हेटौँडा–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत १३औँ खेलमा काठमाडौंले ललितपुरमाथि ११२ रनको विशाल जित दर्ता गरेको छ। प्रतियोगिताकै एकतर्फी खेलमध्ये एक बनेको यस खेलमा काठमाडौंले ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै ललितपुरलाई ४० रनमै समेट्यो।
टसपछि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। काठमाडौंका लागि सम्राट शाहले ३२ बलमा ३२ रन बनाउँदै इनिङ्स सम्हाले। ऋत गौतमले १४ बलमा २९ रनको आक्रामक पारी खेले भने अभिषेक बुढाथोकीले २१ बलमा २२ रन जोडे। यस्तै, धीराज देउवा १३ बलमा १८ रन बनाएर अविजित रहे।
ललितपुरका बलरहरूले सुरुवाती चरणमा केही प्रभावशाली प्रदर्शन गरे पनि काठमाडौंका ब्याटरहरूलाई ठुलो स्कोरतर्फ जानबाट रोक्न सकेनन्। सूर्य तामाङले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए भने विवेक रानामगरले ४ ओभरमा २५ रन खर्चेर २ विकेट हात पारे। रोनिम तिवारी र विपिन आचार्यले समान १–१ विकेट लिए।
१५३ रनको लक्ष्य पछ्याएको ललितपुरको ब्याटिङ भने पूर्ण रूपमा धराशायी बन्यो। काठमाडौंका बलरहरूको घातक बलिङसामु ललितपुरका कुनै पनि ब्याटर लामो समय टिक्न सकेनन्। ललितपुरका लागि विपिन आचार्यले सर्वाधिक १५ बलमा ११ रन बनाए। अन्य ब्याटर दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
काठमाडौंका बलरहरूले सुरुदेखि नै ललितपुरमाथि दबाब सिर्जना गर्दै नियमित अन्तरालमा विकेट लिएका थिए। सन्दीप पराजुली खेलका नायक बने। उनले ३ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएर ललितपुरको ब्याटिङ लाइनअप ध्वस्त पारे। नितेश कुमारले २ ओभरमा ३ रन खर्चेर २ विकेट लिए भने दयानन्द मण्डलले २ ओभरमा १३ रन दिएर २ विकेट हात पारे। मनसुन सिंहले पनि ३ ओभरमा ५ रन मात्र खर्चेर १ विकेट लिएपछि ललितपुर ११ ओभरमै ४० रनमा अलआउट भयो।
काठमाडौंले ११२ रनको फराकिलो जित दर्ता गर्दै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ। लगातार राम्रो प्रदर्शन गर्दै आएको ललितपुर भने हारसँगै दबाबमा परेको छ।