एसिसी महिला प्रिमियर कप नेपाली टिमको बिर्सनलायक प्रदर्शन

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण
  • खराब ब्याटिङ गरेको नेपाल हङकङविरुद्ध इतिहासकै सबैभन्दा कम ४० रनमा समेटियो, उपकप्तान पूजा महतोसमेत चार खेलाडी शून्यमा आउट भएका थिए  

खराब ब्याटिङलाई निरन्तरता दिएको नेपालले इतिहासमै बिर्सनलायक प्रदर्शन गरेको छ । मलेसियामा चलिरहेको एसिसी महिला प्रिमियर कपमा नेपाल शनिबार हङकङसँग मात्र ४० रन बनाउन पुग्यो । योसँगै नेपाली महिला टोली टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम योगफलमा समेटिएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल कम योगफल बनाउँदा हङकङसँग ६९ रनले पराजित भयो । 

यसअघि दक्षिण एसियाली खेलकुदमा बंगलादेशसँग ५० रनमा र दुई वर्षअगाडि मलेसियासँग ५० रनमा समेटिएको थियो । चीनसँग पराजित भएर एसियन्स गेम्समा छनोट हुन चुकेको नेपाल एकपछि अर्को प्रदर्शनमा कमजोर प्रदर्शन गर्न पुगेको हो । 

नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ नचल्दा लज्जास्पद हार व्यहोरेको बताएकी छिन् । ‘यो नेपालले खेल्ने वास्तविक क्रिकेट होइन । ओपनर र मध्यक्रमका ब्याटर नै चल्न सकेनन् । सोचेजस्तो प्रदर्शन भएन । निकै निराश छौँ ।’ कप्तान इन्दुले आगामी क्वार्टरफाइनलमा गल्ती सुधार गर्दै खेल्ने बताएकी छिन् । ‘हङकङसँग जुन खेल भयो । त्यो सोचेकै थिएनौँ । आगामी खेलमा यस्तो प्रदर्शन हुनेछैन ।’

नेपाल र हङकङ यसअघि नै समूह ‘डी’बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् । लगातार तेस्रो जितसँगै हङकङ समूह विजेता र एक खेलमा पराजित नेपाल उपविजेता बनेर क्वार्टरफाइनलमा पुगेका छन् । यो समूहबाट दुई अंकको भुटान र विनाअंकको कतार बाहिरिए । नेपालले भुटानलाई ५१ रन तथा कतारलाई ८ विकेटले पराजित गरेको थियो । अब, नेपालले समूह ‘ए’को विजेतासँग क्वार्टरफाइनल खेल्नेछ । समूह ‘ए’मा विजेता बन्न थाइल्यान्ड र जापान प्रतिस्पर्धामा छन् । क्वार्टरफाइनल जित्ने टिमले एसिया कपमा स्थान बनाउनेछ । 

४० रनमा समेटिँदा ६९ रनको हार 
बलिङ र ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपाल ४० रनमा समेटिँदा ६९ रनले पराजित हुनपुग्यो । नेपालले कुल बनाएको रन हङकङकी यास्मिन डसवानीले एक्लै बनाइन् । उनले ४४ बलमा सर्वाधिक ४२ रन जोडेकी थिइन् । पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय १० रनको लक्ष्य दियो । प्रत्युत्तरमा नेपालले १३.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४० रन बनाएको थियो । 

पहिलो ३ विकेट नेपालले मात्र ३ रन बनाउँदा गुमायो । पहिलो ओभरको ५ बल सकिँदा नेपालले ३ रन बनाएको थियो । ४ विकेट गुमाउँदा ७ रन बनाएको नेपालले कप्तान इन्दु बर्मालाई पनि ६ रनमा गुमायो । कप्तान इन्दु आउट हुँदा नेपालले ६.४ ओभरमा मात्र १९ रन जोडेको थियो । 

सोनी पाख्रिनले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले ठुलो स्कोर जोड्नै सकेनन् । पूर्वकप्तान रुविना क्षेत्री १० तथा सीता रानामगर र रिया शर्मा समान १ रन जोडेका थिए । उपकप्तान पूजा महतोसँगै चार खेलाडी शून्यमा आउट भएका थिए । हङकङका लागि इक्रा सहरले ४ ओभरमा ४ रन दिएर ४ विकेट लिइन् । चान का यिङ र मर्याम बिबीले समान २ विकेट आफ्नो नाममा लेखाएका थिए । 

हङकङकी यास्मिनको ४२ रन
हङकङका लागि यास्मिन डसवानीले ४४ बलमा अविजित सर्वाधिक ४२ रन बनाइन् । मारिको हिल २९, मारिना लामप्लोग १८ रन तथा चानका बिङले ११ रन जोडेकी थिइन् । नेपालका लागि रिया शर्मा र रुविना क्षेत्रीले समान १ विकेट लिए । 

सुझावित समाचार