- वडा र पालिकाको अधिवेशन सकिएर जिल्लाको सुरु, केही ठाउँमा विवाद, प्रदेश अधिवेशनपछि ७ असारदेखि चितवनमा महाधिवेशन
- पाँच लाखभन्दा बढीले लिए सदस्यता, थपिने क्रम जारी तीन हजारभन्दा बढी प्रतिनिधि हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र पारेको छ । ७ असार ०७९ मा स्थापना भएको पार्टीले चार वर्षपछि स्थापना दिवसकै अवसरमा ७–९ असारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दै{ छ । महाधिवेशन तयारीका लागि रास्वपाले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । यस्तै, ३० वटा अरू उपसमिति पनि बनाइएको छ । उपसमितिहरूले काम गरिरहेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।
सभापति नेतृत्वको मूल आयोजक समितिमा डा. स्वर्णिम वाग्ले, कवीन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिनकुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ, मनीष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल तथा सबै केन्द्रीय सदस्य र सबै प्रदेश सभापति सदस्य छन् ।
मूल आयोजक समितिअन्तर्गत १८ वटा उपसमिति पनि गठन गरिएको छ । जसमा कार्यक्रम सञ्चालन एवं व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, महाधिवेशन प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचारप्रसार तथा सञ्चार समन्वय र सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति छन् ।
यस्तै, सूचना प्रविधि, आवास तथा भोजन व्यवस्थापन, अतिथि सत्कार, हल तथा मञ्च व्यस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात व्यवस्थापन, स्थानीय समन्वय सहकार्य, अभिलेखीकरण तथा दस्ताबेजीकरण र अनुशासन उपसमिति बनाइएको छ ।
यसअघि केन्द्रीय समितिले महाधिवेशन तयारीका लागि १२ वटा उपसमिति गठन गरेको थियो । जसमा प्रतिनिधि व्यवस्थापन, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, सुरक्षा, सूचना प्रविधि, साजसज्जा, आवास तथा भोजन, स्वास्थ्य तथा प्राथमिक उपचार, सांस्कृतिक कार्यक्रम, अतिथि सत्कार र विधान संशोधन समिति छन् । यी समितिले पनि आफ्नो काम गरिरहेको महामन्त्री बुर्लाकोटीले बताए।
स्थान टुंगिन बाँकी
चितवनमा महाधिवेशन तय गरेको रास्वपाले कुन स्थानमा गर्ने भन्ने तय भएको छैन । उद्घाटन नारायणी किनार र बन्दसत्र सौराहमा गर्ने विकल्पमा छलफल भइरहेको छ । ‘ठाउँ हेरिरहेका छौँ । ३५ सयजनाजति अट्ने ठाउँ हेरिरहेका छौँ । चितवनको गर्मीमा सहज हुनेलगायत हेरेका छौँ,’ संगठन विभाग सचिव शंकर श्रेष्ठले, ‘उद्घाटन सत्र खुला चौरमा गर्ने कि टेन्ट हाल्ने भन्नेलगायतमा कुरा चलिरहेको छ ।’
तीन हजार प्रतिनिधि
रास्वपाको प्रथम महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने देखिएको छ । महामन्त्री बुर्लाकोटीका अनुसार वडा, पालिका, जिल्ला, प्रदेश, केन्द्रीय विभाग र प्रवास विभागबाट प्रतिनिधि सहभागी हुने र त्यो संख्या तीन हजारभन्दा बढी हुने बताए ।
सदस्य कति छन् ?
संगठन विभागका अनुसार आजको दिनमा रास्वपासँग पाँच लाखभन्दा बढी संगठित सदस्य छन् । बिहीबारसम्म पाँच लाख १२ हजार ७४५ जनाले रास्वपाको सदस्यता लिएका छन् । दिनहुँ हजारभन्दा बढीले सदस्य लिइरहेको विभागका सचिव श्रेष्ठले बताए । उनका अनुसार रास्वपाको डिजिटल एप डाउनलोड गरेर आफ्नो विवरण भरेर अनलाइनमार्फत सदस्यता लिन सकिन्छ भने अर्को अफलाइन फाराम भर्ने, यो डिजिटल तथा इन्टरनेट पहुँच नभएका शुभेच्छुकका लागि हो । अफलाइन फारामलाई पछि अनलाइनमा इन्ट्री गरिन्छ । अझै ५० हजारभन्दा माथि अफलाइन फाराम इन्ट्री हुन बाँकी रहेको छ । यो हालको सदस्यतामा जोडिएको छैन ।
मूल नेतृत्व परिवर्तन नहुने
महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीमा नेताहरूले आ–आफ्नै तरिकाले आकांक्षा राखिरहेका भए पनि महाधिवेशनले मूल नेतृत्व भने परिवर्तन नगर्ने निश्चित छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले महाधिवेशनबाट सभापति रवि लामिछाने नै हुने तथा वरिष्ठ नेतामा बालेन्द्र शाह दोहोरिने बताए । ‘पार्टीको मौजुदा संरचना ख्यालमा राखेर पार्टीले नै सरकार सञ्चालन गरिरहेको छ । सबैलाई सन्तुलनमा राखेर हेर्दा पार्टीको मूल नेतृत्व परिवर्तन हुने संकेत छैन,’ उनले भने, ‘पार्टी सभापति रवि लामिछानेज्यू नै हुनुहुन्छ । र सरकारको नेतृत्व पार्टीका वरिष्ठ नेता र संसदीय दलका नेताले गरिरहनुभएको छ । यो सन्तुलन मिलाएर पार्टी अगाडि बढ्छ ।’
अन्य पदाधिकारी पदमा भने प्रतिस्पर्धा हुन सक्ने उनको भनाइ छ । सभापति एक, उपसभापति महिलासहित तीन, महामन्त्री दुई, सहमहामन्त्री चारजना हुने गरी विधान प्रस्तावित भएको छ । केन्द्रीय समितिको सुझावका आधार थपघट हुनेछ । उपसभापति एकजना थपेर चार बनाउनेबारे छलफल चलिरहेको, तर टुंगिनसकेको उनको भनाइ छ । ‘यसमा संख्याभन्दा आवश्यकताका आधारमा प्रस्ताव भइरहेको छ,’ उनले भने । केन्द्रीय समिति १२१ बाट बढाउने तयारी छ।
अन्य आकांक्षी को–को ?
नेताहरूका अनुसार सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले, महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी र भूपदेव शाह दोहोरिने निश्चित छ । बाँकी दुई उपसभापतिमा विराजभक्त श्रेष्ठ र सुनील लम्साललगायतको नाम चर्चामा छ । महिला उपसभापतिमा सोविता गौतम, प्रतिभा रावल, लिमा अधिकारी, समीक्षा बाँस्कोटा र बसुमाया तामाङलगायतको नाम चर्चामा छ । सहमहामन्त्रीमा विपिन आचार्य र दीपक बोहरासँगै थप ६ जनाले आकांक्षा देखाएका छन् । प्रवक्ता र सहप्रवक्ता भने सभापतिले मनोनीत गर्ने व्यवस्था छ । केन्द्रीय सदस्यका लागि विभिन्न आकांक्षी रहेको र कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भइरहेको पदाधिकारीहरू बताउँछन् । पदको बाँडफाँटका सम्बन्धमा अब नेतृत्व तहमा छलफल गरेर जाने नेताहरू बताउँछन् । ‘एकताको सन्देश दिने गरी मिलेर सर्वसम्मत वा लोकतान्त्रिक विधिबाट नेतृत्व र पदाधिकारी चयन हुन्छ,’ महामन्त्री बुर्लाकोटीले भने।
तल्ला कमिटीको अधिवेशन धमाधम
केन्द्रीय महाधिवेशनअगाडि रास्वपाको तल्ला कमिटीको अधिवेशन धमाधम भइरहेको छ । संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार रास्वपाको कमिटी भएको चार हजार २५० वडा समितिमध्ये बिहीबारसम्म चार हजार २४६ कमिटीको अधिवेशन सम्पन्न भइसकेको छ । चारवटा कमिटीको पनि सम्पन्न हुने चरणमा छ । प्रदेशगत तथ्यांकमा हेर्दा कोशीका ५६९, मधेश ७२०, बागमती ९००, गण्डकी ५२०, लुम्बिनी ७२०, कर्णाली ३३१, सुदूरपश्चिमका ४७६ वडा समितिको अधिवेशन सम्पन्न भएको छ ।
संगठन विभागको तथ्यांकअनुसार रास्वपाको ५१७ पालिकामा कमिटी छ । यीमध्ये ५१२ पालिका (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका) समितिको अधिवेशन भइसकेको संगठन विभाग सचिव श्रेष्ठले बताए । पाँचवटा पालिकाको अधिवेशन हुन बाँकी छ । प्रदेशगत रूपमा कोशी ६५, मधेश ६९, बागमती १०२, गण्डकी ६१, लुम्बिनी ८३, कर्णाली ५४ र सुदूरपश्चिमको ८० पालिकामा रास्वपाले अधिवेशन सम्पन्न गरेको छ।
रास्वपाले ७७ वटै जिल्लाको अधिवेशन २३ र २४ जेठमा गर्दै छ । केन्द्रीय सदस्यलाई समन्वयका लागि खटाइएको छ । यसैगरी जेठ अन्तिम साता प्रदेश अधिवेशन गर्दै छ । बागमतीमा २६ जेठ, कोशीमा २७, मधेशमा २८, गण्डकीमा २९, लुम्बिनीमा ३० जेठ, कर्णालीमा ३१ जेठ र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने कार्यतालिका छ ।
कसरी हुन्छ अधिवेशन ?
रास्वपाले वडादेखि केन्द्रसम्म अधिवेशन गर्न कार्यविधि बनाएको छ । संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार अधिवेशन गर्न वडा कमिटीका कम्तीमा २१ सदस्य भेला भएर माग गर्नुपर्छ तथा पालिका हुँदै जिल्लाबाट अनुमति लिनुपर्छ । जिल्लाले स्वीकृत दिएर निर्वाचन समिति बनाइन्छ । निर्वाचन समितिले अधिवेशन गराउँछन् । यसैगरी पालिका समितिका लागि अधिकतम वडा प्रतिनिधि भेला भई अधिवेशन गर्न माग गरेपछि जिल्ला, प्रदेश हुँदै केन्द्रले अनुमोदन गर्छ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन समिति बनाएर पठाउँछ । जिल्लाको हकमा सबै पालिकाका प्रतिनिधिको भेलाले माग गरेबमोजिम प्रदेश हुँदै केन्द्रीय निर्वाचन आयोगले अनुमोदन गरेर निर्वाचन समिति पठाउँछ ।
६६ जिल्लामा अधिवेशन सुरु
- मोरङ, सुनसरी, पर्सा, पाल्पा र बर्दियामा विवाद
- बारामा २६ जेठ र १० जिल्लामा महाधिवेशनपछि अधिवेशन हुने
- ६ वडा र ५ पालिकामा हुन सकेन अधिवेशन
- बागमतीमा २६ जेठ, कोशीमा २७, मधेशमा २८, गण्डकीमा २९, लुम्बिनीमा ३० जेठ,
- कर्णालीमा ३१ जेठ र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने कार्यतालिका
पार्टी स्थापनाको चार वर्षपछि आगामी ७ देखि ९ असारसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन तयारीमा जुटेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला नेतृत्व चयन सुरु गरेको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअगावै ६७ जिल्लामा र बाँकी १० जिल्लामा महाधिवेशनपछि अधिवेशन गर्ने रास्वपाको तयारी छ ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले शनिबार र आइतबार देशका ६६ जिल्लामा पहिलो अधिवेशन हुँदै छ । यसैअनुसार शनिबार ३७ जिल्लामा अधिवेशनको उद्घाटन भएको छ । उनका अनुसार आइतबार २९ जिल्लामा अधिवेशन सकिँदै छ । बारामा भने २६ जेठमा अधिवेशन गर्ने तयारी छ।
शनिबार कोशी प्रदेशका आठ जिल्ला झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा र सुनसरी तथा मधेश प्रदेशका दुई जिल्ला महोत्तरी र रौतहटमा अधिवेशन सम्पन्न भएको छ । त्यस्तै, बागमती प्रदेशका नौ जिल्ला दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवेशन सम्पन्न भएका छन्।
दोलखामा जिल्ला तदर्थ समितिका निवर्तमान अध्यक्ष दिनेश बस्नेत नै पुनः सर्वसम्मत जिल्ला अध्यक्ष चुनिएका छन् । त्यस्तै, गण्डकी प्रदेशका पाँच जिल्ला स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी तथा लुम्बिनी प्रदेशका आठ जिल्ला गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका दुई जिल्ला कालीकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुलामा अधिवेशन सम्पन्न भएको छ।
रास्वपाका अनुसार आइतबार कोशी प्रदेशका चार जिल्ला उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेश प्रदेशका चार जिल्ला सिराहा, धनुषा, पर्सा र सर्लाही तथा बागमती प्रदेशका दुई जिल्ला चितवन र ललितपुरमा अधिवेशन सम्पन्न हुँदै छ।
त्यस्तै, गण्डकी प्रदेशका चार जिल्ला तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका तीन जिल्ला अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका ६ जिल्ला सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका ६ जिल्ला अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन सम्पन्न हुँदै छ।
विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन २६ जेठमा आयोजना गरिने रास्वपाले जनाएको छ । त्यस्तै, आगामी २६ जेठमा सातवटै प्रदेशको अधिवेशनको तयारी भइरहेको भइरहेको र पहिलो प्रदेश अधिवेशनका रूपमा बागमती प्रदेशबाट सुरु हुँदै गरेको पनि रास्वपाले जनाएको छ ।
विधानमा के–के संशोधन हुँदै छ ?
रास्वपाले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति बनाएर काम गरिरहेको छ । समितिले विधानमा संशोधन गर्नुपर्ने विषय पहिचान गरेर सुझावका लागि केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा पेस गरेको छ । संयोजक आचार्यले केन्द्रीय समितिको सुझावपछि मस्यौदालाई अन्तिम रूप दिएर पारित गरिने बताए । उनका अनुसार पार्टी संगठनलाई आगामी दिनमा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रक्रियाहरू व्यावहारिक बनाउने हिसाबले विधान संशोधन हुनेछ । उनले भने, ‘पदाधिकारी संख्या हेरफेरदेखि आवश्यक नीतिगत व्यवस्था परिमार्जन गरिएको छ ।’ महामन्त्री एकजना भएकोमा दुईजना राखिएको छ । बालेन्द्र शाह समूहबाट भूपदेव शाह दोस्रो महामन्त्री छन् । यसलाई विधानले समेटेको छ । यसैगरी, उपसभापति दुई थियो, एकजना थपेर तीन पुर्याइयो । सहमहामन्त्री तीनजना थियो, एक थपेर चार बनाइएको छ । सहप्रवक्ता एकजना थप्ने केन्द्रीय समितिको निर्णयअनुसार विधानमा व्यवस्थापन गरिएको छ ।
अधिवेशनको पूर्वसन्ध्यामा सभापति रवि लामिछानेको सन्देश–अब ‘म’बाट ‘हामी’मा रूपान्तरण हुने वेला आएको छ
- पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ । संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधि अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो । यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ ।
- स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाबकिताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन । चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ । यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो ।
- अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो । त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ । तर, संगठन विस्तार हुँदा ‘म रहन्नँ कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ । पार्टी ठुलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ ।
- युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ । अब ‘म’बाट ‘हामी’मा रूपान्तरण हुने वेला आएको छ । पहिलो महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनोस् ।