पिकनिक जाँदै गरेको पिकअप मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना हुँदा एकको मृत्यु, १८ जना घाइते

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौंबाट मकवानपुरको सिस्नेरी पिकनिकका लागि आउँदै गरेको पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् ।

बा ९७६८ नम्बरको बोलेरो पिकअप गाडी मंगलबार सिस्नेरीतर्फ आउँदै गर्दा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडक खण्डमा अनियन्त्रित भई पल्टिएर ना १ ज ७२०७ नम्बरको सुमोसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गाडीमा काठमाडौंको पेप्सीकोलास्थित पानी कम्पनीमा कार्यरत कामदारहरू सवार थिए ।

दुर्घटनामा घाइते भएका काभ्रेको पनौती नगरपालिका–१ घर भई हाल काठमाडौं बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर तामाङको उपचारका क्रममा बी. एन्ड. बी. अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 
दुर्घटनामा पिकअपमा सवार १६ जना र सुमोमा सवार २ जना गरी १८ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था मध्यम र ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंस्थित बी. एन्ड. बी. अस्पतालमा जुनुबाबु तामाङ, समीर उराम, रवि मगर, टंकबहादुर तामाङ, रोहन तामाङ, कुमार खरेल, चालक रोशन लामा, सुरेश लामा, सुरेश तामाङ, कृष्णबहादुर सुस्लिङ र गोपी खड्काको उपचार भइरहेको छ। उनीहरूको टाउको, हात, छाती, ढाड, कम्मर तथा खुट्टामा चोट लागेको बताइएको छ।

यसैगरी, गुणराज भुजेलको अवस्था सामान्य रहेको छ। बौद्ध अस्पतालमा उपचाररत कबिर मगर, सबिन मगर, अर्जुन मगर र शिशिर तामाङको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

सुमोमा सवार सिन्धुपाल्चोककी ५५ वर्षीया लक्ष्मी श्रेष्ठ र काठमाडौं चन्द्रागिरि–९ की ४५ वर्षीया शान्ति महर्जन घाइते भएका छन्। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

सुझावित समाचार