पूर्वी पहाडी जिल्ला संखुवासभाको धर्मदेवी नगरपालिकाको केन्द्र मुढे बजारमा नेपाल–चीन व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित ‘पर्यटन विकास तथा प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया कार्यक्रम’ सुरु भएको छ।
शुक्रबार आयोजित कार्यक्रममा चीनको राजदूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) छोउ पानले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरे। उनले नेपाल र चीनबिच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा चीन सरकार साझेदार बन्न इच्छुक रहेको बताए।
'नेपाल र चीनबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नेपालको पर्यटन, जडीबुटी र कृषि क्षेत्रको विकासमा साझेदारी गर्न चाहन्छौँ। चीन सरकारले बिआरआईअन्तर्गत सहयोग गरिरहेको छ र आगामी दिनमा पनि सहयोग गर्न इच्छुक छ। तिब्बत र संखुवासभालाई जोड्ने किमाथांका नाका भएकाले दुई देशबिचको कनेक्टिभिटी थप विस्तार गर्न चाहन्छौँ। किमाथांका नाकाको स्थलगत अध्ययन तथा अवलोकन गरी आवश्यकताअनुसार विकासका लागि सहयोग गर्ने हाम्रो चाहना छ,' उनले भने। उनले काठमाडौंदेखि विराटनगर हुँदै संखुवासभासम्मको यात्राका क्रममा यहाँका प्राकृतिक दृश्यले आफूलाई आकर्षित गरेको पनि बताए।
छोउ पानका अनुसार सन् २०२५ मा करिब एक लाख चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए। हालै काठमाडौंदेखि चीनको सेनझेनसम्म हिमालयन एयरलाइन्सले सिधा हवाई सेवा सञ्चालन सुरु गरेकाले यसले दुई देशबिचको व्यापारिक सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले नेपाल–चीनबिच आयात–निर्यातलाई सहज बनाउन खुला व्यापारिक पहुँच आवश्यक रहेको धारणा राखे। उनले किमाथांका नाका हुँदै नेपाली उत्पादन चीनसम्म सहज रूपमा निर्यात गर्न सके व्यापारिक सम्बन्ध अझ सुदृढ हुने बताए।
त्यसैगरी, कोशी प्रदेशका पूर्वमन्त्री भक्तिप्रसाद सिटौला, प्रतिनिधिसभा सदस्य डा. सुजाता तामाङ, कोशी प्रदेशका पूर्वसांसद पदमकुमारी गुरुङ, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, धर्मदेवी नगरपालिकाका प्रमुख उदयचन्द्र पौडेल तथा चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले नेपाल–चीन सम्बन्ध ऐतिहासिक र बहुआयामिक रहेको उल्लेख गर्दै व्यापारिक सहकार्यमार्फत पर्यटन विकास गर्नुपर्नेमा जोड दिए।
अन्तर्क्रिया कार्यक्रममा कोशी प्रदेशअन्तर्गत संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर र झापा जिल्लाका पर्यटन व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। चिनियाँ राजदूतावासका डिसिएम छोउ पानको टोलीलाई नेपाली पञ्चेबाजासहित कार्यक्रमस्थलसम्म स्वागत गरिएको थियो।
कार्यक्रम कोशी करिडोरअन्तर्गतका पर्यटकीय क्षेत्रहरूको विकास, प्रवर्द्धन तथा नेपाल–चीन पर्यटन सम्बन्ध विस्तारमा केन्द्रित रहेको आयोजकले जनाएको छ। धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रहरूको पहिचान, संरक्षण, विकास र प्रवर्द्धन, पर्यटन पूर्वाधार विस्तार तथा पर्यटनलाई स्थानीय आर्थिक विकाससँग जोड्ने विषयमा छलफल गरिएको थियो। विशेष गरी किमाथांका नाका हुँदै चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने विषयमा व्यापक छलफल भएको बताइएको छ।
खाँदबारी सेवा समाजका उपाध्यक्ष जीवनाथ पोखरेलका अनुसार चीनबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने, किमाथांका नाकासम्मको आवागमन सहज बनाउने, नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा विशेष छलफल गरिएको छ।
कार्यक्रममा खाँदबारी सेवा समाजका उपाध्यक्ष जीवनाथ खनाल तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सिद्धार्थ विश्वकर्माले नेपाल–चीन सम्बन्ध, पर्यटन तथा व्यापारका विविध पक्षबारे अध्ययनसहितका कार्यपत्र प्रस्तुत गरेका थिए।
खाँदबारी सेवा समाजको मुख्य संयोजनमा धर्मदेवी नगरपालिका, धर्मदेवी नगर उद्योग वाणिज्य संघ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा तीनदिने अन्तर्क्रिया कार्यक्रम सुरु भएको हो।
जेठ २२ देखि २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा कोशी करिडोरभित्र पर्यटन विकासका सम्भावना, चुनौती तथा समाधानका उपाय, साथै किमाथांका नाकामा सहज आवतजावत र व्यापार प्रवर्द्धनका विषयमा बहस तथा कार्यपत्र प्रस्तुतीकरण हुने आयोजकले जनाएको छ।
तीनदिने अन्तर्क्रिया कार्यक्रमबाट प्राप्त निष्कर्ष तीनै तहका सरकार तथा चीन सरकारसमक्ष सम्बन्ध विस्तार र सहकार्यका लागि पेस गरिने बताइएको छ।