कैलालीको टीकापुरमा अन्तरव्यवस्थापिका सम्मेलन सुरु भएको छ। अन्तरव्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा सुरु भएको सम्मेलन भोलिसम्म संचालन हुने छ।
सम्मेलनमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, संघका दुवै सदनका उपसभामुख, सातवटै प्रदेशका सभामुख, उपसभामुख, संघ र प्रदेश संसद्का सचिवलगायतको सहभागिता रहेकाे छ।
सुदूरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीको अध्यक्षतामा सुरू भएको सम्मेलनको उद्घाटनमा सभामुख अर्याल, अध्यक्ष दाहाल, सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता खगराज भट्ट, प्रदेशको सामाजिक विकास समितिका सभापति धर्मराज पाठक, विशेसाधिकार समितिका सभापति तुलसी देवकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका छन्।
सम्मेलनमा कानुन निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालन, संसद्का कठिनाइलगायत विषयमा छलफल हुनुका साथै संघ र प्रदेशका अनुभवहरू आदानप्रदान गरिने सभामुख भण्डारीले जानकारी दिए। सम्मेलनले घोषणापत्र पनि जारी गर्ने छ।