काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा चलिरहेको तेस्रो जयकुमारनाथ शाह स्मृति यू–१६ अन्तरस्कुल क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । शुक्रबारको खेल सकिएपछि अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो । प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा शनिबार डिएभी स्कुलले केएमसी स्कुलसँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो क्वार्टरफाइनलमा अपि स्कुल र सैनिक आवासीय महाविद्यालयबिच हुनेछ । प्रतियोगिताको आइतबार मोक्षदा स्कुलले जेम्स स्कुलसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । त्यसै दिन अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस स्कुलले रत्नराज्य माध्यमिक विद्यालयसँग भिड्नेछ ।
प्रतियोगिताको लिग चरणको अन्तिम दिनमा रत्नराज्य माध्यमिक विद्यालयले संस्कृति इन्टरनेसनल स्कुललाई ९१ रनले पराजित गरेको थियो । जितसँगै टोलीले दुई खेलमा दुई अंक जोड्दै अन्तिम आठमा स्थान बनाएको हो । अर्को खेलमा मोक्षदा र क्लिन्टन स्कुलबिचको खेल वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडे । दुई खेलमा एक जित र एक बराबरीसहित तीन अंक जोडेको मोक्षदा क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
त्रिवि क्रिकेट मैदानमा सैनिक आवासीयले क्रिएटिभ एकेडेमीलाई १० विकेटले पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेको हो । सैनिकले चार अंक बनायो । डिएभी स्कुलले रेडियन्ट रिडर्स स्कुललाई एक सय ७८ रनले पराजित गर्दै समूह ‘ए’को विजेता बन्यो । तल्लो मूलपानी क्रिकेट मैदानमा जेम्स स्कुलले लिभरपुल सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्दै समूह ‘जी’को विजेता बन्यो । नेपाल पुलिस स्कुलले पिक प्वाइन्ट एकेडेमीलाई डकवर्थ–लुइस (डिएलएस) विधिअनुसार ४९ रनले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्यो ।