बजेटअघि भन्सार पास भएका इभीको विषयमा अर्थ मन्त्रालय र भन्सार विभागले छानबिन गर्ने

सात सय ७४ विद्युतीय गाडी प्रहरी नियन्त्रणमा

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

बजेट घोषणाको एक–दुई दिनअघि भन्सार जाँचपास भई भित्रिएका सात सय ७४ थान विद्युतीय गाडीको विषयमा अर्थ मन्त्रालय र भन्सार विभागले छानबिन गर्ने भएको छ । बजेटमार्फत बढ्ने करको दरसम्बन्धी सूचना चुहाएर त्यसअघि नै मिलेमतोमा भन्सार पास गराएको आशंकामा प्रहरीले मुस्ताङको जोमसोम, पर्वतको कुस्मा, कास्कीको हेम्जा र नुवाकोटको पासाङल्हामु सडकखण्डबाट सवारीसाधन नियन्त्रणमा लिएको हो ।

सशस्त्रका डिआइजी विष्णुप्रसाद भट्टका अनुसार करको दर बढ्नुअघि भन्सार पास गराइएको गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

त्यसैगरी, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत दुईवटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडी आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइने डिआइजी भट्टले बताए । बजेटमा परिवर्तन गरिएको भन्सार दर छल्न विभिन्न कम्पनीले भन्सार कर्मचारीसँग मिलेर पुरानो मितिको प्रज्ञापनपत्र बनाएको आशंका गरिएको छ । स्रोतका अनुसार कतिपय गाडी भन्सार यार्डमा समेत नआइपुगेको अवस्थामा कागजात मात्रै हेरेर भन्सार ‘क्लियरेन्स’ दिइएको आशंका छ ।

कर बढ्नुअघि भन्सार पास भएका गाडीमा वृद्धि भएको हालको कर जोडेर बिक्री मूल्य निर्धारण गरी ठुलो लाभ लिन कर्मचारीसमेतको मिलेमतोमा गाडी भित्र्याइएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले छानबिन अघि बढाएको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयले समेत कर बढ्नुअघि ठुलो संख्यामा गाडी भित्रिएकोबारे चासो राखेपछि अर्थ मन्त्रालयका उपसचिव नीरन भट्टराई, भन्सार विभागका उपसचिव भूपालराज शाक्य र शाखा अधिकृत रमेश सुकमनीलाई छानबिनको जिम्मेवारी दिइएको छ । त्यस्तै, कोरला र रसुवागढी भन्सार कार्यालयका कर्मचारीलाई समेत अनुसन्धानमा तानिएको छ । 

१५ जेठमा सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनमा नयाँ शीर्षक ‘स्वच्छता कर’ लगाउन थालिएको छ । स्वच्छता कर २० प्रतिशतदेखि ११० प्रतिशतसम्म लाग्ने व्यवस्था छ । यो करका कारण विद्युतीय गाडीको मूल्य अस्वाभाविक रूपमा बढ्ने गर्छ । तर, यस्तो कर छल्न बजेट भाषणअघि नै ठुलो संख्यामा गाडी भित्र्याएर लाभ लिएको आशंकामा प्रहरीले बिचबाटोबाटै नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार कोरला नाकाबाट मात्रै १२ र १३ जेठमा ६ सय ४९ थान विद्युतीय गाडी भन्सार क्लियर भएका थिए । त्यस्तै, रसुवागढी नाकाबाट पनि ४ देखि १३ जेठसम्म चार सय ७२ थान विद्युतीय गाडी भन्सार पास भएका थिए । 

See More On

सुझावित समाचार