जुम्लाकी मञ्जु रावत र जुम्लाकै दलबहादुर कुँवरले छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन- २०८३ अन्तर्गत क्रमशः महिला र पुरुषतर्फको उपाधि हात पारेका छन्। उपाधिसँगै अन्य स्थानमा पनि जुम्लाका खेलाडीहरूले वर्चश्व जमाएका छन्।
‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुकको आयोजनामा बुधबार सम्पन्न म्याराथनमा महिलातर्फ मञ्जुले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै उपाधि हात पारेकी हुन्। ६ घण्टा ५६ मिनेट २५ सेकेन्डमा दूरी पार गर्दै राज्यलक्ष्मी रावल दोस्रो तथा ७ घण्टा ५६ सेकेन्डमा दूरी पार गरेकी कल्पना बुढा तेस्रो भए। उनीहरू तीनैजना जुम्लाका हुन्। महिलातर्फका प्रतिस्पर्धीहरू स्टमा अलमलिएका कारण दूरी पार गर्न केही घण्टा बढी समय लागेको थियो।
यसैगरी, पुरुषतर्फ उपाधि हात पारेका जुम्लाका दलबहादुरले ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा दूरी पार गरे। यसअघि पाँचौँ संस्करणमा उनी ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भएका थिए। पुरुषतर्फ दोस्रो भएका नेपाली सेनाका तिलकबहादुर सुनुवारले ४ घण्टा १० मिनेट ८ सेकेन्डमा दूरी पार गरे। तिलकले पाँचौ संस्करणमा ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा दूरी पार गर्दै उपाधि हात पारेका थिए। एक वर्षपछि उनले सो दूरी १४ मिनेट कम समयमा पार गरे पनि उपाधि हात पार्न भने सकेनन्। यसैगरी, तेस्रो भएका घान्द्रुकका सचिन गुरुङले ४ घण्टा ४९ मिनेट १२ सेकेन्डमा दूरी पार गरे। उनी यसअघिको संस्करणमा ४ घन्टा २६ मिनेट ३ सेकेन्डमा दूरी पार गर्दै पाँचौँ स्थानमा आएका थिए।
६ विदेशीसहित ५१ जनाले प्रतिस्पर्धा गरेको प्रतियोगितामा महिला पुरुष दुवैतर्फ प्रथम भएका धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार पाएका छन्।
चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानमा आएर सम्पन्न भएको थियो।