डिएभी, ग्यालेक्सी र मोक्षदाको सहज जित

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

तेस्रो जयकुमारनाथ शाह स्मृति यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगितामा मंगलबार डिएभी सुशील केडिया विश्व भारती स्कुल, ग्यालेक्सी पब्लिक स्कुल र मोक्षदा स्कुलले जित निकालेका छन् । माथिल्लो मूलपानी क्रिकेट मैदानमा डिएभीले नेक्सस इन्टरनेसनल स्कुललाई १९३ रनको विशाल अन्तरले पराजित गर्यो । २४२ रनको लक्ष्य पछ्याएको नेक्सस १२.४ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो । डिएभीको जितमा केशव अग्रवाल र तनिष शाहले समान ३ विकेट लिए । पहिले ब्याटिङ गरेको डिएभीले २० ओभरमा २ विकेट गुमाएर २४१ रनको विशाल योगफल बनाएको थियो । 

डिएभीका लागि कमल शाही ४८ बलमा ११ चौका र ३ छक्कासहित ९९ रनको योगदान दिए । आरुष झाले ५६ रन बनाए । कप्तान प्रसिद्ध जैसीले २० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४० रनको आक्रामक इनिङ्स खेले । यसैगरी, त्रिवि क्रिकेट मैदानमा गौतम कुमार पटेलको घातक बलिङमा मोक्षदा स्कुलले विज्डम इंग्लिस एकेडेमीलाई १२३ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको मोक्षदाले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । मोक्षदाका लागि संश्रय श्रेष्ठले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । आरोन गिरीले ३६ रन र यमुन केसीले १७ रन बनाए । विज्डमका लागि सुवास कुँवरले दुई तथा सौरभ अधिकारीले १ विकेट लिए । 

१६५ रनको लक्ष्य पछ्याएको विज्डम ९.४ ओभरमै ४१ रनमा अलआउट भयो । विज्डमका साइमन लम्साल क्षेत्रीले अविजित ७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । मोक्षदाको जितमा गौतम कुमार पटेलले ४ ओभरमा केवल ४ रन खर्चेर ७ विकेट लिए । यसैगरी, तल्लो मूलपानी क्रिकेट मैदानमा ग्यालेक्सी पब्लिक स्कुलले हिमालयन ह्वाइटहाउस आइबी वर्ल्ड स्कुललाई ९० रनले पराजित गर्यो । 

See More On

सुझावित समाचार