प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिविरुद्ध सदनदेखि सडकसम्म विरोध भएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध बनेको छ । यस्तै, बागमती प्रदेशसभा बैठक पनि प्रभावित बन्यो । प्रधानमन्त्री शाहले आइतबार संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको’ बताएका थिए । उनको सोही अभिव्यक्तिको विषयलाई लिएर सडक प्रदर्शन भएको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेस, एमाले, नेकपालगायत दल र तिनका भ्रातृसंगठन सडकमा उत्रिएका हुन् । एमालेले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गर्यो । कांग्रेस, नेकपालगायतका दलका युवा विद्यार्थी संगठनले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विरोध प्रदर्शन गरे । संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ । युवा विद्यार्थीले राजधानीमा सोमबार साँझ प्रधानमन्त्रीको पुत्ला दहनसमेत गरेका छन् ।
एमाले काठमाडौं जिल्ला कमिटीको आह्वानमा माइतीघरमा प्रदर्शन भएको छ । ‘राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे’, ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ’जस्ता नारा एमालेका कार्यकर्ताले लगाए । सार्वभौम सदनबाट राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्रीको कुर्चीमा बस्न नमिल्ने उनीहरूको माग छ । कांग्रेसका युवा विद्यार्थीले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले प्रदर्शनसहित प्रधानमन्त्रीविरुद्ध नाराबाजी लगाए । प्रदर्शनको क्रममा नेविसंघका नेताहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे पक्राउ परेका छन् । कांग्रेसले पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
कांग्रेसको युवा संगठन तरुण दलले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेको छ । प्रधानमन्त्रीले वीर पुर्खाको अपमान गरेको, राष्ट्रप्रेम स्टाटसमा मात्र देखाएका जस्ता प्लेकार्ड प्रदर्शन गरेका हुन् । नेकपाको जेन–जी संगठन रेड फोर्स नेपालले पनि प्रदर्शन गरेको छ । नेकपाले जनवर्गीय संगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । जनवर्गीय संगठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले देशव्यापी रूपमा सशक्त संघर्ष गर्ने बताएका छन् ।
कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अक्षम्य, आपत्तिजनक र घोर निन्दनीय भएको बताएको छ । ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको अत्यन्तै संवेदनशील विषय सीमा समस्याका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले सार्वभौम संसद्को रोस्ट्रममा उभिएर दिनुभएको हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
एमालेले सीमासम्बन्धी प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई तथ्यहीन, गैरजिम्मेवार तथा राष्ट्रहितविपरीत भएको बताएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान र कूटनीतिक दाबीलाई कमजोर बनाएको बताएका छन् ।
त्यस्तै, नेकपाले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ । नेकपा प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भनेको बताएका छन् ।
बजेट छलफल प्रभावित
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा संघीय संसद् अवरुद्ध बनेको छ । सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठक र १ः१५ बजे बसेको राष्ट्रिय सभा बैठक प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षीले विरोध गर्दा अवरुद्ध भएको हो । बैठक अवरुद्ध हुँदा आगामी आर्थिक वर्ष ०८३/८४ को राजस्व र व्ययको अनुमान बजेटमाथिको छलफल प्रभावित भएको छ । प्रधानमन्त्री शाहको अभिव्यक्ति गम्भीर तथा राष्ट्रहितविपरीत भएको, लिम्पियाधुरा, लिपुलेक सीमा मुद्दा कमजोर बनाउने भन्दै विपक्षी दलले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन, प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग अघि सारेका छन् । प्रतिनिधिसभा बैठकअघि कांग्रेस संसद्यी दलको कार्यालयमा बसेको विपक्षी पाँच दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै माफी नमानेसम्म सदन चल्न नदिने निर्णय गरेको थियो ।
‘सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले संसद्मा बोलेको कुरा राष्ट्रघाती अभिव्यक्ति हो भन्ने निष्कर्ष रह्यो । यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले संसद्बाट देशवासीको नाममा माफी माग्नुपर्ने माग राखेर संसद्मा अवरोध गर्ने, माफी नमानेसम्म संसद्् बैठक चल्न नसक्ने निर्णय भयो,’ बैठकपछि नेकपा प्रमुख सचेतक युवराज दुलालले भने । निर्णयअनुसार नै विपक्षी दलहरू प्रतिनिधिसभा बैठकमा प्रस्तुत भए । निर्धारित समयभन्दा एक घण्टा बढी ढिलो गरी प्रतिनिधिसभा बैठक सुरु भयो । विपक्षी दलका सांसदहरू उठे । सभामुख डोलप्रसाद अर्यालले विपक्षी बेन्चलाई समय दिए । राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपालले भारतको सीमा मिचेको तथ्य भए सदनमा प्रस्तुत गर्न माग गरे । प्रमाण पेस गर्नुपर्ने र होइन भने तथ्यहीन शब्दहरू संसद्को रेकर्डबाट हटाउनुपर्ने उनको भनाइ थियो ।
कांग्रेस सचेतक निस्कल राईले ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको भनाइमा असहमति रहेको बताए । ‘संसद्मा प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ,’ राईले भने, ‘नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ? रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले एक–एक इन्चको हिसाब दिनुपर्छ ।’ राईले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने र त्यसो नभएसम्म संसद््को कामकारबाही अगाडि बढ्न नसक्ने बताए । यसका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए । एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र राष्ट्रघाती भन्दै सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले देशवासीका नाममा माफी माग्नुपर्ने माग गरे । माफी नमागेसम्म सभाको कारबाही अगाडि नबढ्ने जानकारी गराए । त्यस्तै, नेकपा प्रमुख सचेतक युवराज दुलालले सीमाका नागरिकले खेतीपाती गरेको विषयसँग देशको भूमिमा भारतीय सैनिक परेड खेलेर देशको भूमि कब्जा गरेर प्रयोग गरेको विषयको तुलना गर्नु गम्भीर आत्मसर्मपणवादी चिन्तन भएको बताए । ‘प्रधानमन्त्रीको नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति सीमा समस्यासम्बन्धी अज्ञानता त हो नै, त्योभन्दा बढी गम्भीर राष्ट्रहितविपरीतको अभिव्यक्ति हो । यसरी तथ्यहीन विषय बोल्नु गम्भीर गल्ती हो,’ उनले भने, ‘गलत भ्रामक अभिव्यक्ति सदनबाट फिर्ता लिनुपर्छ ।’
श्रम संस्कृतिका प्रमुख सचेतक आरेन राईले राष्ट्रियतासँग जोडिएको प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउनुपर्ने अवस्था सिर्जना हुँदा गहिरो दुःख र लज्जाबोध भइरहेको बताए । ‘यस्तो संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति जिम्मेवार र राष्ट्रहितमा हुनुपर्छ । प्रधानमन्त्रीले यति कमजोर र मिथ्या र तथ्यहीन उत्तर दिँदा लज्जा महसुस भएको छ । त्यसैले प्रधानमन्त्रीको रेकर्डबाट हटाउने मात्र होइन, यस्तो नजिर स्थापित भयो कि भोलि तिम्रो प्रधानमन्त्रीले भनेको हो, हाम्रो भूमि तिमीले मिचेको छ, फिर्ता ल्याउ भन्छ भने कुन भूमि फिर्ता दिने ? त्यसैले प्रधानमन्त्री यही आएर माफी मागेर आफ्नो शब्द फिर्ता लिनुपर्छ,’ उनले भने ।