प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसारभर छरिएर रहेका नेपाली मूलका मानिसलाई फराकिलो ढंगले समेट्न उपयुक्त हुने धारणा राखेका छन् । नेपाली मूलका नेपालीको छाता संगठन एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का केन्द्रीय उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख अर्यालले सो धारणा राखेका हुन् ।
उनले नेपाली मूलका मानिसलाई फराकिलो ढंगले समेट्न प्रयास हुने पनि बताए । उनले नेपालको राष्ट्रको हित हुने गरी कानुन बनाएर अघि बढ्ने जानकारी पनि दिएका थिए । सभामुखकै कार्यकक्षमा भएको भेटमा एएनओ उपाध्यक्ष पन्तले आफ्नो संस्थाले जतिसुकै पुस्ता भए पनि नेपाली मूलका मानिसलाई सांस्कृतिक रूपमा नेपालसँग जोड्ने र जहाँ बसे पनि नेपालीपनको संवर्द्धन गर्न सक्ने वातावरण बनाउन क्रियाशील रहेको जानकारी दिए । उनले छलफलमा रहेको ऐनको मस्यौदा (जिरो ड्राफ्ट)मा उल्लेखित नेपाली उत्पत्तिका व्यक्तिको परिभाषालगायतका विषयमा आफ्नो संस्थाका तर्फबाट सुझावहरू रहेको जानकारी दिँदा सबै सरोकारवालासँग व्यापक छलफलको आवश्यकता रहेको बताएका थिए ।
एएनओका महासचिव चूडामणि भट्टराई, बोर्ड अफ ट्रष्टी सदस्यहरू बाबुकृष्ण कार्की र ओमराज गुरुङ, एएनओ क्यानडाका अध्यक्ष चित्र प्रधान तथा एएनओ नेपालका अध्यक्ष कृष्णप्रसाद सापकोटा सम्मिलित प्रतिनिधिमण्डलले एएनओका तर्फबाट तयार पारिएको स्मरणपत्र सभामुख अर्याललाई हस्तान्तरण गरेको थियो । प्रतिनिधिमण्डलले सो पत्रमा ऐनको मस्यौदामा भएका कतिपय बुँदाहरू असान्दर्भिक, अव्यावहारिक र विदेशमा रहेका पुस्तौँपुस्ताका नेपालीलाई नेपालसँग जोड्न अपर्याप्त रहेकोतर्फ सभामुखको ध्यानाकर्षण गराएको छ ।
यसैबिच एएनओका महासचिव चूडामणि भट्टराई र बोर्डअफ ट्रष्टी सदस्य ओमराज गुरुङले परराष्ट्रसचिव अमृत राईसँग भेट गरी मन्त्रालयले तयार गरेको ऐनको मस्यौदामा एएनओका तर्फबाट तयार गरिएको सुझावपत्र बुझाएका थिए । पत्र बुझ्दै सचिव राईले बृहत् छलफलका लागि मन्त्रालय तयार रहेको जानकारी गराएका थिए ।