झारफुक गर्ने व्यक्तिले दिएको औषधिले बिरामीको मृत्यु भएपछि प्रहरीले मुद्दा दायर गरेको छ। दोलखाको गौरीशंकर– ३ भर भई हाल कागेश्वरी मनहरा– ८ बस्ने ५९ वर्षीय मोतीबहादुर खड्काविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो। झारफुक गर्दै आएका खड्काले दिएको औषधिले बिरामीको मृत्यु भएको भन्दै इलाजसम्बन्धी कसुरमा काठमाडौं प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
गत १९ वैशाखमा गागलफेदीका २९ वर्षीय दिवस बुढाथोकी पेट दुखेपछि झारफुक गर्नका लागि खड्काले सञ्चालन गरेको झारफुक सेन्टर पुगेका थिए। जहाँ झाँक्री खड्काले उनलाई एक आयुर्वेदिक औषधि दिए। सो औषधिको सेवनले बिरामी झन् सिकिस्त बनेपछि परिवारले चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पताल लगेको थियो। जहाँ लगेलगत्तै उनको मृत्यु भएको थियो। झाँक्री खड्काले दिएको औषधिकै कारण उनको मृत्यु भएको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको हो।