थानकोट–चित्लाङ सडक आजदेखि दुई साताका लागि पूर्ण बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौंलाई मकवानपुर हुँदै हेटौँडासँग जोड्ने छोटो तथा महत्त्वपूर्ण थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड आजदेखि दुई साताका लागि पूर्ण रूपमा बन्द गरिएको छ । सडक स्तरोन्नति तथा निर्माण कार्यका लागि आज जेठ १७ गतेदेखि ३० गतेसम्म सडकमा सवारी आवागमन रोकिएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंले चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकालाई पत्राचार गर्दै पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडकखण्ड १४ दिनका लागि पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ ।

कार्यालयका अनुसार सडक सुधार, कटिङ, ढलान, नाली निर्माण तथा अन्य स्तरोन्नति कार्य तीव्र रूपमा सञ्चालन भइरहेका कारण निर्माणस्थलमा सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको छ । निर्माण कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न तथा यात्रु र कामदारको सुरक्षालाई प्राथमिकता दिँदै अस्थायी रूपमा सडक बन्द गर्ने निर्णय गरिएको हो ।

काठमाडौंबाट मकवानपुर तथा हेटौँडातर्फ छोटो दूरीमा यात्रा गर्न सकिने भएकाले दैनिक सयौँ सवारीसाधन यो सडक प्रयोग गर्दै आएका छन् । तर, सडकको भौगोलिक अवस्था जटिल हुनु, साँघुरा घुम्ती, भिरयुक्त क्षेत्र तथा निर्माणाधीन खण्डमा सवारी सञ्चालन भइरहँदा निर्माणकार्य प्रभावित हुँदै आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

विशेषगरी सडक फराकिलो बनाउने, ढलान गर्ने तथा भारी निर्माण सामग्री ओसारपसार गर्ने क्रममा सवारी आवागमनले काममा अवरोध पुर्याएको कार्यालयको भनाइ छ । 

कतिपय स्थानमा सडकको एकतर्फी भाग मात्रै सञ्चालनयोग्य रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको जनाइएको छ । सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख इन्जिनियर सुबाेधकुमार देवकोटाकाले सडक बन्द अवधिभर चित्लाङ हुँदै यात्रा गर्ने सवारीसाधनलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

सुझावित समाचार