संघीय सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि सार्वजनिक गरेको बजेटमार्फत बागमती प्रदेशलाई आर्थिक समृद्धिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।
राजधानी काठमाडौंलाई आधुनिक स्मार्ट सहरका रूपमा विकास गर्ने ‘भिजन २०४०’ कार्यक्रमदेखि हेटौँडालाई औद्योगिक तथा प्रविधि हब बनाउने योजनासम्म बजेटले बागमतीका १३ जिल्लालाई प्रत्यक्ष छुने गरी पूर्वाधार, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा र यातायातका महत्त्वाकांक्षी कार्यक्रम समेटेको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै बागमती प्रदेशलाई राष्ट्रिय आर्थिक गतिविधिको प्रमुख केन्द्र बनाउने रणनीति सरकारले अघि बढाएको बताएका हुन् ।
काठमाडौं ‘भिजन २०४०’, अन्डरपास, फ्लाइओभर र एआई कम्प्युट केन्द्र
सरकारले काठमाडौं उपत्यकाको दीर्घकालीन व्यवस्थापनका लागि ‘काठमाडौं भिजन २०४०’ योजना अघि सारेको छ । उक्त योजनाअन्तर्गत काठमाडौंका मुख्य सडकहरूमा अन्डरपास, फ्लाइओभर, नदी करिडोर तथा कलंकीदेखि बसुन्धरासम्मको रिङरोड विस्तारलाई प्राथमिकतामा राखिएको छ ।
सरकारले स्युचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गरेको छ । कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा र डेटा प्रशोधनलाई राष्ट्रियस्तरमा विकास गर्न उक्त केन्द्रलाई आधारभूत पूर्वाधारका रूपमा विकास गर्ने सरकारको लक्ष्य छ ।
काठमाडौं उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम र चार्जिङ स्टेसन विस्तारका कार्यक्रम पनि बजेटमा समेटिएका छन् ।
भूमिगत विद्युतीय तार र स्मार्ट पूर्वाधार
काठमाडौं उपत्यकाभित्र विद्युतीय तार भूमिगत गर्ने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । सरकारले स्मार्ट सहर अवधारणाअनुसार डिजिटल पूर्वाधार, विद्युतीय यातायात र हरित ऊर्जालाई केन्द्रमा राखेर बागमती प्रदेशमा दीर्घकालीन आर्थिक गतिविधि विस्तार गर्ने रणनीति अघि सारेको जनाएको छ ।
संघीय बजेटले बागमती प्रदेशलाई ऊर्जा, पूर्वाधार, प्रविधि, पर्यटन र औद्योगिक विकासको मुख्य केन्द्रका रूपमा अघि बढाउने संकेत गरेको विश्लेषण गरिएको छ ।
हेटौँडामा ग्रिन हाइड्रोजन र औद्योगिक हब
संघीय बजेटले बागमती प्रदेशको राजधानी हेटौँडालाई ऊर्जा र औद्योगिक प्रविधिको केन्द्र बनाउने रणनीति अघि सारेको छ । सरकारले हेटौँडामा २.५ मेगावाट क्षमताको ‘ग्रिन हाइड्रोजन’ पाइलट आयोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।
व्यावसायिक रूपमा हरित हाइड्रोजन उत्पादन सुरु गर्ने दीर्घकालीन लक्ष्यसहित उक्त आयोजना अगाडि बढाइने सरकारको योजना छ । ऊर्जा रूपान्तरण र हरित अर्थतन्त्रतर्फको राष्ट्रिय रणनीतिअन्तर्गत यो परियोजना महत्त्वपूर्ण मानिएको छ ।
सरकारले लामो समयदेखि अलपत्र रहेको मयूरधाप औद्योगिक क्षेत्रलाई निजी क्षेत्रको साझेदारीमा निर्माण तथा सञ्चालन गर्ने घोषणा गरेको छ ।
यसैगरी, हेटौँडा–नारायणगढ सडकलाई चार लेनमा विस्तार गर्न बजेट विनियोजन गरिएको छ । वर्षौँदेखि ढिलाइ भइरहेको उक्त सडक स्तरोन्नति आगामी आर्थिक वर्षभित्र तीव्र गतिमा अघि बढाउने सरकारको योजना छ ।
सुरुङमार्ग र सडक पूर्वाधारमा ठुलो लगानी
सरकारले बागमती प्रदेशका विभिन्न रणनीतिक सडक र सुरुङमार्गलाई आगामी वर्षको प्राथमिकतामा राखेको छ । धादिङस्थित नागढुंगा–मुग्लिन सडक स्तरोन्नति तथा नागढुंगा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
त्यस्तै, नुवाकोटको टोखा–छहरे सुरुङमार्ग र सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने घोषणा बजेटमार्फत गरिएको छ । नुवाकोट–रसुवा जोड्ने गल्छी–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिका लागि सरकारले एक अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
जलविद्युत्, प्रसारणलाइन र खानेपानीमा प्राथमिकता
सरकारले दोलखाको तामाकोशी– ५ जलविद्युत् आयोजना र रामेछापको खिम्ती–बाह्रबिसे–काठमाडौं प्रसारणलाइन निर्माणलाई प्राथमिकतामा राखेको छ ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारणलाइन चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने हेटौँडा–रातमाटे–लप्सीफेदी प्रसारणलाइन निर्माणलाई तीव्रता दिइने भएको छ ।
सिन्धुलीको सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई तीव्रता दिने र मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि याङ्ग्री तथा लार्के खोलाबाट पानी पथान्तरण गर्ने अध्ययन सम्पन्न गरिने सरकारको योजना छ ।
बागमती प्रदेशका विभिन्न जिल्लामा २८० खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हेटौँडालगायत प्रमुख सहरमा खानेपानी तथा ढल प्रशोधन कार्यक्रम सञ्चालन गर्न सरकारले दुई अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनका लागि ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड’लगायत संस्थालाई गाभेर एकीकृत संरचना बनाउने घोषणा गरिएको छ।
भरतपुर विमानस्थल विस्तार, चेपाङ समुदायलाई आवासीय विद्यालय
सरकारले चितवनको भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्ने घोषणा गरेको छ । मानव विकास सूचकांकमा पछाडि परेको चेपाङ समुदायका बालबालिकाका लागि चितवनमा आवासीय नमुना विद्यालय सञ्चालन गरिने भएको छ ।
पर्यटन र सांस्कृतिक पूर्वाधारमा नयाँ योजना
सरकारले काठमाडौंको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने घोषणा गरेको छ । ग्रेट हिमालयन ट्रेल पदमार्गको विकास, पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विस्तारका कार्यक्रम पनि बजेटमा समेटिएका छन् । काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने नीति सरकारले लिएको छ ।