काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा तेस्रो एसियन इ–लर्निङ ‘जयकुमारनाथ शाह मेमोरियल यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिता’ १९ जेठबाट सुरु हुने भएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक तथा ट्रफी अनावरण तथा मुख्य प्रायोजकसँग सम्झौता गरिएको हो ।
प्रतियोगिता जेठ १९ गतेदेखि २५ गतेसम्म तल्लो मूलपानी, माथिल्लो मूलपानी तथा त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने जिल्ला क्रिकेट संघ काठमाडौंका अध्यक्ष दिवाकर घलेले जानकारी गराएका छन् । प्रतियोगितामा २४ वटा विद्यालयको सहभागिता रहनेछ । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ।
हरेक समूहको शीर्ष टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने काठमाडौं जिल्ला क्रिकेट संघका सचिव किरण राणाले जानकारी दिए ।
प्रतियोगिताका सबै खेल टी–२० फर्म्याटमा सञ्चालन हुने टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले बताए । साथै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ तथा विधागत उत्कृष्ट खेलाडीलाई लकर रूमको तर्फबाट आकर्षक उपहार प्रदान गरिने उनले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजक एसियन इ–लर्निङ सेन्टर रहेको छ भने सहप्रायोजकमा इ–सेवा, एसोसिएट प्रायोजक लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्। सोही अवसरमा एसियन इ–लर्निङ सेन्टरका तर्फबाट निर्देशक मीना त्रिपाठी लिम्बू र काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष घलेबिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यस्तै, इ–सेवाकी ब्रान्ड तथा बजार व्यवस्थापन प्रमुख हाना गुरुङ र घलेबिच पनि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
प्रतियोगिताको समूह ‘ए’मा डिएभी सुशील केडिया विश्व भारती स्कुल, नेक्सस इन्टरनेसनल एकेडेमी र रेडियन्ट रिडर्स स्कुल रहेका छन्। समूह ‘बी’मा सैनिक आवासीय महाविद्यालय, त्रियोग उच्च माध्यमिक विद्यालय र क्रियटिभ एकेडेमी रहेका छन् ।
यस्तै, समूह ‘सी’मा ग्यालेक्सी पब्लिक स्कुल, हिमालयन ह्वाइटहाउस, आइबी वर्ल्ड स्कुल र केएमसी स्कुल रहेका छन् भने समूह ‘डी’मा एन्जल्स हार्ट नेसनल स्कुल, ज्ञान मन्दिर सेकेन्डरी इंग्लिस स्कुल र अपी स्कुल रहेका छन्।
समूह ‘ई’ मा मोक्षदा स्कुल, विज्डम इंग्लिस एकेडेमी र क्लिन्टन स्कुल रहेका छन्। समूह ‘एफ’मा रत्न राज्य माध्यमिक विद्यालय, अक्षरा स्कुल र संस्कृति इन्टरनेसनल स्कुल रहेका छन्।
त्यसैगरी, समूह ‘जी’मा जेम्स स्कुल, अक्षारिका स्कुल र लिभरपुल सेकेन्डरी स्कुल रहेका छन् भने समूह ‘एच’मा नेपाल पुलिस स्कुल, द सेलिब्रेसन सहशिक्षा विद्यालय र पिक पोइन्ट एकेडेमी रहेका छन्।