बजेट वितरणमुखी भयो, स्थानीय चुनावलक्षित देखिन्छ : पूर्वअर्थमन्त्री पुन

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता वर्षमान पुनले बजेट वितरणमुखी भएको प्रतिक्रिया दिएका छन्। विगतमा १८–१९ खर्बको बजेट ल्याएर पछि परिमार्जन गर्ने गरिएको उल्लेख गर्दै पुनले बजेटका आकार अस्वाभाविक रूपमा बढाइएको बताए।

संसद्बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘बजेट हेर्दा मिश्रित खालको देखिन्छ । आकारमा धेरै ठुलो भयो, वास्तविक देखिएन। यो वास्तविक होइन, अर्थमन्त्री स्वयंलाई पनि थाहा छ।’

विगतमा वामपन्थी अर्थमन्त्रीहरूलाई वितरणमुखी बजेट ल्याएको टिप्पणी गर्ने अहिलेका अर्थमन्त्री स्वयंले स्थानीय तहको चुनावलाई लक्षित गरी बजेट ल्याएको पुनको आरोप छ।

‘अब स्थानीय चुनाव आउँदै छ। अहिलेको लोकप्रियता र स्थापित दलहरूविरुद्धको जनमत सधैँ नहुन सक्छ। कामले नै गर्नुपर्छ । त्यसैले वितरण गरेपछि स्थानीय तहमा जनमत बनाउन सकिन्छ कि भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ,’ उनले भने।

कर छुट र अनुदान दिने कुरा सकारात्मक भए पनि नेपालको अर्थतन्त्रले धान्न नसक्नेसमेत उनले स्पष्ट पारे।
 

सुझावित समाचार