कोहलपुर–सुर्खेत १३२ केभिए नियमित हुन अझै दुई साता लाग्ने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

हावाहुरीले राष्ट्रिय प्रसारण लाइनको टावर ढलेपछि अवरुद्ध बनेको कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् सेवा सुचारु हुन अझै कम्तीमा दुई साता लाग्ने भएको छ । गत २६ वैशाखमा बाँकेको बैजनाथ गाउँपालिकास्थित राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको चिसापानी चेकपोस्टदेखि पूर्वी क्षेत्रमा ठुलो सालको रुख ढलेर तारमा बज्रिँदा प्रसारण लाइनको टावर ढलेको थियो ।

अहिले क्षतिग्रस्त क्षेत्रमा टावर पुनर्निर्माणको पहिलो चरणअन्तर्गत फाउन्डेसन (जग) ढलानको काम सकिएको छ । अबको दुई साताभित्र टावर निर्माण र तार तान्ने काम सकेर विद्युत् सेवा नियमित गर्ने तयारी भइरहेको छ । १३२ केभिए विद्युत् आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार प्रसारण लाइनको क्षेत्राधिकारभन्दा बाहिर रहेको सालको रुख ढलेका कारण क्षति पुगेको हो ।

हावाहुरीका कारण प्रसारण लाइनको मध्यविन्दुभन्दा बाहिर रहेको करिब ३८ मिटर लामो र तीन मिटर मोटाइको सालको रुख ढलेर तारमा लाग्दा पोलमा क्षति पुगेको प्रमुख चौधरीले बताए । ‘अवरुद्ध विद्युत् छिटो सुचारु गर्न हामीले फाउन्डेसन निर्माणको काम गत सोमबार सकेका छौँ,’ उनले भने, ‘अब टावर खडा गर्ने र तार तान्न कम्तीमा दुई साता लाग्छ । त्यसपछि विद्युत् नियमित हुन्छ ।’

प्रसारण लाइनको मध्यविन्दुबाट दायाँबायाँ नौ–नौ मिटर क्षेत्रका रुखहरू यसअघि नै हटाइए पनि निकुञ्जभित्र रहेका अन्य जोखिमयुक्त रुखहरू हटाउन अनुमति नपाउँदा आगामी दिनमा पनि यस्तै जोखिम रहने चौधरीले बताए । चिसापानी क्षेत्रमा यस्ता धेरै जोखिमपूर्ण ८० बढी रुखहरू रहेको र यसबारे माथिल्लो निकायलाई पहिले नै जानकारी गराइसकिएको उनले बताए । 

प्रसारण लाइन बन्द भएपछि अहिले सुर्खेतसहित कर्णालीका अन्य जिल्लामा कोहलपुर–सुर्खेत र लम्की–बाबियाचौर–सुर्खेतको पुरानो ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको छ । तर, अत्यधिक गर्मीको समयमा ३३ केभी सिस्टममा मागभन्दा निकै कम भोल्टेज आउँदा उपभोक्ताहरूले चर्को सास्ती खेपिरहेका छन् । 

सुझावित समाचार