घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहीबार इरानले घरेलु टोली नेपालमाथि ३–० को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । नेपाल इरानसँग २५–२०, २५–१५ र २५–११ ले पराजित भएको हो । हारसँगै नेपालले घरेलु मैदानमा उपाधि जित्ने अवसर फेरि गुमाएको छ ।
सन् २०२४ मा नेपाल फाइनलमा पुगे पनि भारतसँग पाँचौँ सेटमा पराजित भएको थियो । दुई वर्षअघि नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमै हराउँदै फाइनल यात्रा तय गरेको थियो । यसपटक नेपाल सेमिफाइनलबाट अगाडि बढ्न सकेन ।
अब इरानले शुक्रबार फाइनलमा काजकस्तानसँग खेल्नेछ । दिनको पहिलो सेमिफाइनलमा काजकस्तानले भारतलाई सोझो सेटमा हराएको थियो । शुक्रबारै नेपालले तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ । प्रशिक्षक जगदीश भट्टले इरानविरुद्ध सक्दो प्रयास गरे पनि असफल भएको प्रतिक्रिया दिए । ‘इरानविरुद्ध सक्दो प्रयास गर्यौँ, तर जित निकाल्न सकेनौँ,’ भट्टले भने, ‘प्रतियोगिताकै बलियो टोली कजकिस्तान र इरान हुन् । दुवै टिम उपाधिनजिक पुगे । नेपालको दाबेदारी तेस्रो स्थानका लागि हुनेछ ।’
नेपालको कमजोर खेल
अन्तर्राष्ट्रिय भलिबल वरीयतामा इरान नेपालभन्दा १० स्थान माथि छ । नेपाल ५४औँ स्थानमा रहँदा इरान ४४औँ स्थानमा छ । नेपालले वरीयतामा समेत माथि रहेको इरानविरुद्ध सबै सेटमा फितलो प्रदर्शन गर्यो । नेपालले काभा महिला च्याम्पियनसिपबाटै वरीयता पाएको हो । सुरुको सेटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालले पहिलो सेटको १० अंकसम्म इरानलाई पछि पारेको थियो । त्यसपछि नेपाल ब्लक, रिसिभ, स्पाइकर र सर्भिस सबै पक्षमा कमजोर देखियो । बिस्तारै खेलमा फर्कंदै इरानले नेपालको कमजोरीको फाइदा उठायो ।
नेपालका आशा गरिएका खेलाडी नै सर्भिस र स्पाइकमा चल्न सकेनन् । इरानले सुधारिएको खेल प्रदर्शन गर्दै पहिलो सेटमा २५–२० ले जित्यो । प्रशिक्षक भट्टले प्लेइङ सेटमा कप्तान निरुता ठगुन्नालाई बाहिर राख्दै मीना सुनार, उषा भण्डारी, कामना विष्ट, प्रगति नाथ, सलिना श्रेष्ठ, सुनिता खत्री र सुमित्रा रेग्मीलाई खेलाएका थिए ।
भट्टले पहिलो सेटमा सलिना बुढामगरलाई अवसर दिएका थिए । पहिलो सेटको तुलनामा नेपाल दोस्रो सेटमा झनै कमजोर देखियो । नेपाली खेलाडीले एकपछि अर्को गल्ती गर्दै गए । इरानले दोस्रो सेट सहजै २५–१५ ले जित्यो । लगातार दुई सेट गुमाएको नेपाल घरेलु समर्थक र कोटमा दबाबमा देखिएको थियो ।
फाइनलको आशा जीवितै राख्न नेपालले तेस्रो सेट जित्नैपर्ने थियो । प्रशिक्षक भट्टले तेस्रो सेटमा केही रणनीति र खेलाडी परिवर्तन गरे । लगातार कमजोर प्रदर्शनपछि कामनाको स्थानमा रिमा कुँवरले मौका पाइन् । मीनाको स्थानमा कप्तान निरुता र सलिना श्रेष्ठको स्थानमा अर्की लिबेरो शान्तिकला तामाङलाई प्रशिक्षक भट्टले मौका दिएका थिए ।
एकपक्षीय तेस्रो सेट
खेलाडी र रणनीति परिवर्तनसँगै तेस्रो सेटमा नेपालले केही आशालाग्दो प्रदर्शन गरेको थियो । तर, सुरुमै २–० ले पछि परेको नेपालका खेलाडी मानसिक रूपमा कमजोर देखिए । त्यसको फाइदा अग्ला कदका इरानी खेलाडीले लिँदै गए । निर्णायक मानिएको तेस्रो सेटमा खेलाडीले केही गर्न सकेनन् । इरान भने एकपक्षीय रूपमा अंक बटुल्दै फाइनलतर्फ अग्रसर भएको थियो । इरानले तेस्रो सेटमा नेपालमाथि २५–११ को जित निकाल्यो ।
भारतसँग खेल्दै नेपाल
नेपालले तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ । भारत सेमिफाइनलमा काजकस्तानसँग सोझो सेटमा पराजित भयो । काजकस्तानविरुद्ध निरीह देखिएको भारत २५–२१, २५–१७ र २५–१४ ले पराजित भएको थियो । यसअघि समूह ‘ए’मा नेपाल भारतसँग पराजित भएको थियो । प्रशिक्षक भट्ट भारतलाई हराउन खेल्ने बताउँछन् । ‘फेरि एकपटक भारतलाई हराउने अवसर आएको छ । यो प्रतियोगितामा हाम्रो योजना पनि भारतलाई नै हराउने हो । सफल हुनेमा विश्वस्त छु,’ उनले भने ।
पहिलो खेलमा भारतसँग चुके पनि किर्गिस्तान र माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । यही प्रतियोगिताबाट मीना, सलिना, एलिसा मानन्धर, वसन्ती साउद, सुनिता र जसमा महतोले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए ।
इरानविरुद्ध राम्रो खेल्न सकेनौँ : जगदीश भट्ट, प्रशिक्षक, नेपाल
बलियो इरानविरुद्ध जित निकाल्न सक्दो प्रयास गरेका थियौँ । तर, घरेलु कोर्टमा जित निकाल्न असमर्थ भयौँ । इरानसँगको खेलमा गल्तीहरू भए । जसकारण खेल गुमायौँ । काभा महिला भलिबल प्रतियोगिताकै बलियो टोली काजकस्तान र इरान हुन् । अहिले दुवै उपाधिनजिक पुगेका छन् । उपाधि जित्न नसके पनि नेपालको अबको लक्ष्य भारतलाई हराई तेस्रो स्थान रक्षा गर्ने हुनेछ । नेपाललाई भारतविरुद्ध बदला लिने अवसर पनि हो । यो प्रतियोगितामा हाम्रो योजना पनि भारतलाई नै हराउने हो । यसमा सफल हुनेमा विश्वस्त छु ।