किस्ट शिक्षण अस्पतालअन्तर्गत रहेको किस्ट प्रत्यारोपण केन्द्रद्वारा बुधबार अंगदाता सम्मान कार्यक्रम सम्पन्न गरिएको छ। आफ्नो अंग दिएर मानव जीवन बचाउने कार्यमा योगदान पुर्याउने अंगदाताहरूप्रति उक्त सम्मान गरिएको हो । कार्यक्रममा दुई सयभन्दा बढी अंगदातालाई सम्मान गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरिबाबु महर्जनले गरेका थिए। कार्यक्रममा बोल्दै उनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै अंगदाताहरू समाजका वास्तविक नायक भएको बताए। ‘कुनै व्यक्तिको अंगदानले अर्को व्यक्तिलाई नयाँ जीवन दिन सक्छ। यस्तो महान् कार्यलाई समाजभर प्रोत्साहन गर्न आवश्यक छ,’ उनले भने। उनले किस्ट शिक्षण अस्पतालले निजी क्षेत्रमा प्रत्यारोपण सेवामार्फत उल्लेखनीय योगदान पुर्याएकोसमेत बताए।
अस्पतालका अनुसार विगत पाँच वर्षदेखि ग्वार्कोस्थित किस्ट शिक्षण अस्पताल निजी क्षेत्रमै उच्च सफलता दरसहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको छ। हालसम्म अस्पतालले २०२ जनामा मिर्गौला प्रत्यारोपण तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
अस्पतालले आफ्नो सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउँदै एनएबिएच प्रमाणीकरण प्राप्त गरेको जनाएको छ। अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एकैसाथ गरिने मिर्गौला र कलेजो प्रत्यारोपण, दुई परिवारबिच आपसी सहमतिमा गरिने अंग प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट गरिने प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक गर्दै आएको अस्पतालले जानकारी दिएको छ। अस्पतालले एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यक्रियासमेत गरेको छ ।
अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीमध्ये सबैभन्दा बढी उमेरका ८० वर्षीय तथा सबैभन्दा कम उमेरका १९ वर्षीय रहेका छन्। ८० वर्षीया एक महिलामा क्यान्सर रोग पहिचान भए पनि चिकित्सकीय रूपमा अंगदान योग्य ठहरिएपछि उनको अंगदानबाट आफन्तको जीवन बचाउन सफल भएको उदाहरणसमेत अस्पतालले प्रस्तुत गरेको छ।