सुर्खेतमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुधबार बेलुका करिब ८ बजे भेरीगंगा नगरपालिका– २, कालपानीस्थित भित्री सडकखण्डमा कालपानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका– १० निवासी ५२ वर्षीय मानबहादुर चौधरीले चलाएको क.प्र. ०२–००१ ख. ०६४७ नम्बरको टिपरले पैदलयात्री भेरीगंगा नगरपालिका– २, कालपानीनिवासी २३ वर्षीय कमल वलीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका वलीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत ल्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीले टिपर र चालकलाई घटनास्थलबाट नियन्त्रणमा लिएको जनाएको छ । मृतक वलीको शव हाल अस्पतालको शवगृहमा राखिएको छ ।