बुद्धिचाल महासंघको साधारणसभा वैध भएको महर्जन पक्षको दाबी

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल बुद्धिचाल महासंघको विवाद सतहमा आएको छ। १० जेठमा दुई स्थानमा महासंघको विशेष अधिवेशन आयोजना भएको थियो। हेटौँडामा आयोजना गर्ने पक्षले आफूहरूको विशेष साधारणसभा वैध भएको दाबीसहित बुधबार पत्रकार सम्मेलन आयोजना गरेको छ। अहिले हेराकाजी महर्जनको अध्यक्षतामा रहेको पुरानै संघ यथावत् छ। आवश्यक ५० प्रतिशत गणपूरक संख्या नपुगेपछि दोस्रोपटक ११ जेठमा आयोजित सभामा आवश्यक ३३ प्रतिशत पुगेका कारण अधिवेशन वैध रहेको दाबी गरिएको हो।

अध्यक्ष महर्जनले भने, ‘जम्मा ११८ जना मध्ये ४६ जना प्रतिनिधिको उपस्थिति रहँदा राष्ट्रिय खलकुद परिषदद्वारा स्वीकृत विधानको परिच्छेद ३ दफा १०, उपदफा ५ (घ)मा व्यवस्था भएबमोजिम ५१ प्रतिशत गणपूरक उपस्थित नहुँदा १२ गते दास्रोपटकका लागि आह्वान गरिएको थियो,’ उनले भने, ‘दोस्रोपटक ३३ प्रतिशत उपस्थित प्रतिनिधिलाई गणपूरक मानिने विधानको निर्दिष्ट निर्देशनमा ४७ जना प्रतिनिधिबिच विशेष साधारणसभाको गणपूरक सदस्यहरूले सर्वसम्मत अविश्वास प्रस्ताव अस्वीकृत भयो।’

अध्यक्ष महर्जन र महासचिव धरमबहादुर लामाविरुद्धमा अविश्वास प्रस्ताव दर्ता भएपछि साधारणसभा गर्ने सवालमा विमति रहेको थियो। आर्थिक अनियमितता, खेलाडीमाथिको दुर्व्यवहार तथा दुई वर्षअघि अनावश्यक व्यक्तिलाई भ्रमण गराउन खोज्दा चेस ओलम्पियाडमा नेपाली खेलाडीले भिसा नपाएकोलगायत आरोपसहित अविश्वास प्रस्ताव दर्ता भएको थियो।

यता, महर्जनले नेपाल बुद्धिचाल महासंघको आधिकारिक लोगो, लेटर हेड तथा छाप अनधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरेका छन्। यदि लोगो र लेटरहेड तथा छाप अनधिकृत प्रयोग गरेमा कानुनअनुसार कारबाही गर्ने पनि अध्यक्ष महर्जनले चेतावनी दिएका छन्।

सुझावित समाचार