- हर्मुज जलमार्ग पुनः खोल्नु वासिंटन वा तेहरानका लागि रणनीतिक स्थिरता मात्र होइन, यो विश्वव्यापी आर्थिक आवश्यकता पनि हो
अमेरिका र इरानबिचको वार्ता सम्भावित सफलतातर्फ अघि बढ्दै जाँदा चासो भने लामो समयदेखिका दुई परस्पर विरोधीबिचको कूटनीतिभन्दा धेरै टाढासम्म फैलिएको छ । मुद्दा केवल युद्धविराम वा आणविक सम्झौताको होइन । हर्मुज जलमार्गमा केन्द्रित ऊर्जा, खाद्यान्न र जीवनयापन लागत संकटबाट विश्व अर्थतन्त्र बच्न सक्छ कि सक्दैन भन्ने हो ।
पछिल्ला विवरणले वासिंटन र तेहरानले बृहत् व्यवस्थाको एक अंशका रूपमा जलमार्ग पुनः खोल्नेबारे छलफल गरिरहेको संकेत गरेका छन् । प्रस्तावमा ६० दिनको युद्धविराम, ढुवानी लेन पुनः खोल्ने, केही प्रतिबन्ध हटाउने र इरानको आणविक कार्यक्रममा ताजा वार्तालगायत विषय समावेश गरेको बताइएको छ । विश्वमा आपूर्ति हुने तेलको लगभग पाँच भागको एक भाग र तरल प्राकृतिक ग्यास आपूर्तिको ठुलो हिस्सा सामान्यतया हर्मुजको जलमार्गबाट गुज्रिन्छ । हालैका सातामा ढुवानीमा अवरोध, सैन्य तनाव र अमेरिकी नौसेनाको नियन्त्रणले माल ढुवानी लागत, ऊर्जा मूल्य र बिमा प्रिमियम बढाएको छ ।
चाँडै नै दिगो सम्झौता भएन भने यसको परिणाम विश्वव्यापी अर्थतन्त्रमा द्रुत गतिमा फैलिने सम्भावना छ । धनी अर्थतन्त्र भएका देशले पनि यसको प्रभाव महसुस गर्नेछन् । उच्च इन्धन मूल्यले युरोप र उत्तरी अमेरिकाका घरपरिवारमा पहिल्यै भार पारिरहेको मुद्रास्फीतिको दबाबलाई तीव्र बनाउनेछ । सुस्त वृद्धि र जीवनयापन लागतको चिन्ता सामना गरिरहेका विभिन्न देशका सरकारले यातायात, बिजुली र खाद्यान्नको मूल्य फेरि एकपटक बढ्दै जाँदा नयाँ दबाबको सामना गर्नेछन् ।
तर, यसको प्रभाव ग्लोबल साउथअन्तर्गतका देशमा धेरै गम्भीर हुनेछ । धेरै विकासशील अर्थतन्त्र आयातित इन्धन, मल र खाद्यान्नमा गहिरो निर्भर छन् । त्यसैले, सम्पूर्ण अर्थतन्त्रमा ऊर्जा झट्का लाग्छ, यातायात लागत बढ्छ, कृषि उत्पादन महँगो हुन्छ र खाद्य मुद्रास्फीति तीव्र हुन्छ । सरकारले अनुदान वा आपत्कालीन सहयोगमार्फत बढ्दो मूल्यबाट जनतालाई जोगाउने प्रयास गर्दा सार्वजनिक वित्त बिग्रन्छ ।
यो गतिशीलता अहिल्यै देखिन थालेको छ । अफ्रिका र दक्षिण एसियाका धेरै आयातमा निर्भर देशका सरकारले बढ्दो वित्तीय दबाबको सामना गर्दै वैकल्पिक इन्धन आपूर्ति सुरक्षित गर्न संघर्ष गरिरहेका छन् । हर्मुज जलमार्गवरपरको अनिश्चितता जति लामो समयसम्म जारी रहन्छ, मुद्रास्फीति झट्काले विद्यमान ऋण संकट र सामाजिक अस्थिरतालाई गहिरो बनाउने सम्भावना त्यति नै बढी हुन्छ ।
वास्तवमा, विश्वव्यापी अर्थतन्त्र साँघुरो भूराजनीतिक गतिरोधका लागि असाधारण रूपमा कमजोर छ । हर्मुज केवल एक क्षेत्रीय जलमार्ग मात्र होइन, यो विश्वव्यापी पुँजीवादको केन्द्रीय धमनीमध्ये एक हो । जब यो सैन्यीकृत हुन्छ वा आंशिक रूपमा अवरुद्ध हुन्छ, यसको परिणाम केही दिनभित्रै विश्वव्यापी रूपमा प्रतिध्वनित हुन्छ ।
खाद्यान्नको मूल्य यी अवरोधप्रति विशेषगरी संवेदनशील हुन्छ, किनभने ऊर्जा बजार र खाद्य प्रणाली एक–अर्कासँग जोडिएका हुन्छन् । मल उत्पादन प्राकृतिक ग्यासमा धेरै निर्भर हुन्छ । ढुवानी र रेफ्रिजरेसन लागत तेलको मूल्यमा निर्भर हुन्छ । जब ऊर्जा बजार अस्थिर हुन्छ, सामानको ‘बिल’ लगभग सबैतिर बढ्छ । यही कारणले गर्दा हाल भइरहेका वार्ता निकै महत्वपूर्ण छन् ।
मुद्दा केवल अमेरिका र इरान थप सैन्य टकराबबाट बच्न सक्छन् कि सक्दैनन् भन्ने मात्र होइन । ऋण, जलवायु झट्का र भूराजनीतिक विखण्डनले पहिल्यै तनावग्रस्त कमजोर विश्वव्यापी अर्थतन्त्रले अर्को लामो ऊर्जा अवरोध सहन सक्छ कि सक्दैन भन्ने पनि हो ।
पछिल्ला वर्षले यस्ता झट्का कति छिटो राजनीतिक संकटमा परिणत हुन्छन् भनेर देखाएको छ । एक दशकभन्दा बढी समयअघि अरब विद्रोह हुनुअघिको अशान्तिमा खाद्य मुद्रास्फीतिले प्रमुख भूमिका खेलेको थियो । हालै, बढ्दो जीवनयापन लागतले ल्याटिन अमेरिकादेखि युरोपसम्म राजनीतिक अस्थिरतालाई बढावा दिएको छ । विश्वभरका सरकारले पहिल्यै व्यापक अविश्वास, स्थिर ज्याला र बढ्दो असमानताको सामना गरिरहेका छन् । ऊर्जा र खाद्य मूल्यमा अर्को निरन्तर वृद्धिले यी दबाबलाई नाटकीय रूपमा तीव्र पार्न सक्छ ।
फेरि पनि विडम्बना के छ भने धेरैजसो देश, जो सबैभन्दा बढी पीडित हुने सम्भावना हुन्छ, उनीहरूले द्वन्द्वमा आफ्नो प्रभाव कम राख्छन् । अहिले सबैभन्दा गम्भीर आर्थिक जोखिमको सामना गरिरहेका जनसंख्या प्रायः भूराजनीतिक टकराबका लागि कम जिम्मेवार हुन्छन्, तैपनि तिनीहरू बढ्दो आयात लागत, बढ्दो भोकमरी र संकुचित वित्तीय स्थानको सबैभन्दा बढी जोखिममा छन् । विश्वव्यापी अर्थतन्त्रले वस्तु बजार र ऋण संरचनामार्फत गरिब समाजमा प्रमुख–शक्ति द्वन्द्वको लागत लाद्छ । तदनुसार, हर्मुज जलमार्ग पुनः खोल्नु वासिंटन वा तेहरानका लागि रणनीतिक स्थिरता मात्र होइन, यो विश्वव्यापी आर्थिक आवश्यकता पनि हो ।
(कपुर टोरन्टोस्थित योर्क विश्वविद्यालयमा वातावरणीय तथा सहरी परिवर्तन संकायका प्राध्यापक हुन्)
अलजजिराबाट