बाराको निजगढ नगरपालिका– ६ स्थित जनसिर्जनशील सामुदायिक वन क्षेत्रमा हावाहुरीले रुखको हाँगा ट्याक्टरमाथि खस्दा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार साँझ करिब ६ः४५ बजे निजगढ– २, सिंगोलबाट निजगढ– ६ को योजना टोलतर्फ आउँदै गरेको ना.७त ५१५० नम्बरको ट्याक्टरमाथि अचानक रुखको हाँगा भाँचिएर खसेको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनामा ट्याक्टरमा सवार निजगढ नगरपालिका– ४ पुरानो टोल निवासी ५५ वर्षीय देवबहादुर अर्याल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सामुदायिक प्रसूतिगृह अस्पताल लगिएकोमा चिकित्सकले साँझ ७ः१० बजे मृत घोषणा गरेका हुन्।
त्यस्तै, ट्याक्टरमा सवार नुवाकोट सूर्यगढी गाउँपालिका– १ घर भई हाल निजगढ नगरपालिका– ५ बागदेव बस्दै आएका ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन्। उनको ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
ट्याक्टर र चालक निजगढ– ४ पुरानो टोल निवासी ५० वर्षीय बुद्धमान बललाई प्रहरीले नियन्त्रणमा लिएको छ।