रानीसैनमा प्रहरी परिचालन

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

बाजुराको हिमाली गाउँपालिका– ३, लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयलाई लिएर कुटपिट भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशासनले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमान्डमा जनपथतर्फ १६ र सशस्त्रका १० जना गरी २६ प्रहरी परिचालन गरेको हो।

हुम्लाको खार्पुनाथ गाउँपालिका– २, थलीका स्थानीयको समूहले हिमाली– ३ का वडासदस्य पेमा गारा गुरुङसहित पाँचजनामाथि कुटपिट गरेको थियो। ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर पुगेको धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोली र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लसहितको टोलीलाई  अवरोधका कारण साइपाल बेसक्याम्पको पूर्वी भाग बाजुराको रानीसैन नपुग्दै फर्किएको थियो।

जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी शैलेश्वरी बोहराले दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार घाइतेहरूले २२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन्।

प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षामा सुधार आउने र वर्षौँदेखि हुँदै आएको बहुमूल्य जडीबुटीको अवैध ओसारपसार कमी आउने अपेक्षा थियो। तर, जडीबुटीको अवैध ओसारपसार निर्वाध रूपमा चलिरहोस् भन्ने चाहने समूहको उक्साहटमा घटना भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले दाबी गरे।

सुझावित समाचार