किर्गिस्तानलाई सोझो सेटमा हराएसँगै नेपालले काभा महिला भलिबल च्याम्पियसिपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सेटमा हराएपछि समूह ‘ए’मा ३ अंक बटुल्यो । मिडब्लकर सुमित्रा रेग्मी चम्किएपछि नेपालले सहज जित निकालेको हो । सुमित्रा नै खेलको प्लेयर अफ दी म्याच चुनिइन् । सुरुबाटै किर्गिस्तानमाथि हाबी भएको नेपालले २५–१८, २५–२० र २५–१३ को जित निकाल्यो ।
यो जितपछि समूहमा नेपालले दुई खेलबाट ४ अंक बटुलेको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । पहिलो सेट जिते पनि नेपाल भारतसँग निर्णायक सेटमा पराजित हुनपुगेको हो । यता, भारतले दोस्रो खेलमा पनि जित निकाल्दै सेमिफाइनल लगभग पक्का गरेको छ । भारतको समूहमा ५ अंक भएको छ ।
प्रतियोगितामा पहिलो जितपछि नेपालका प्रशिक्षक जगदीश भट्टले रणनीतिअनुसार सफल भएको प्रतिक्रिया दिए । उनले पहिलो खेलमा भारतसँग पराजित भए पनि उच्च मनोबलसहित कोर्टमा उत्रिएको जानकारी गराए । ‘पहिलो खेलमा भारतसँग पराजित हुँदा दबाब थियो । तर, दोस्रो खेलमा किर्गिस्तानविरुद्ध रणनीतिअनुसार सफल भयौँ । खेलाडीले उच्च मनोबलसहित खेले । जसले तीन अंक दिलायो ।’
नेपालकी कप्तान निरुता ठगुन्नाले जित्नैपर्ने दबाबबिच खेल आफ्नो पक्षमा पारेको प्रतिक्रिया दिइन् । ‘पहिलो खेलमा पराजित भएपछि जित्नैपर्ने दबाब थियो । जहाँ हामी सफल भएका छौँ,’ उनले भनिन्, ‘यो जितले सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
अब, नेपालले आइतबार समूहको अन्तिम खेलमा कमजोर माल्दिभ्ससँग खेल्दै छ । प्रतियोगितामा दुवै खेल हारेपछि माल्दिभ्स बाहिरिइसकेको छ । माल्दिभ्सले दुवै खेल गुमाएका कारण पनि नेपाली टिमको सेमिफाइनल सम्भावना बढेको हो । यता, भारतले समूहको अन्तिम खेलमा आइतबार नै किर्गिस्तानको सामना गर्नेछ ।
किर्गिस्तानलाई अगाडि बढ्न सोझो सेटको जित आवश्यक छ । हारले भने टिम समूह चरणबाटै बाहिरिनेछ । पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो ।
१५ जेठसम्म आयोजना हुने प्रतियोगितामा आठ टिम सहभागी भएका छन् । प्रतियोगिताको आयोजक काभा हो भने सहआयोजक नेपाल भलिबल संघ हो ।
आज नै भएको प्रतियोगितामा भारतले दोस्रो जित निकालेको छ भने कजकस्तानले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा इरानले बंगलादेशलाई ३–० कै सोझो सेटमा हराएको थियो ।
भारतको सहज जित
पहिलो खेलमा घरेलु टोली नेपाललाई स्तब्ध बनाएको भारतले दोस्रो खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्यो । खेलमा टिम २५ं–९, २५–१४ र २५–१७ को जित निकालेको हो । यो जितपछि भारत समूह ‘ए’ मा शीर्ष स्थानमा छ ।
काजकस्तानको विजयी सुरुवात
काभा च्याम्पियनसिपमा काजकस्तानले विजयी सुरुवात गरेको छ । उसले समूह ‘बी’मा श्रीलंकालाई सोझो सेटमा हराएको हो । २५–९, २५–१८ र २५–१५ को जित निकाल्यो । प्रतियोगिताकै सबैभन्दा बलियो टोली काजकस्तानले कुनै पनि समय श्रीलंकालाई खुलेर खेल्न दिएन । खेलभर काजकस्तान हाबी भएको थियो ।
चम्किए युवा खेलाडी
पहिलो खेलमा जस्तै दोस्रो खेलमा समेत नेपालको युवा खेलाडी चम्किएपछि नेपालले सहज जित निकालेको हो । भारतविरुद्ध जस्तै किर्गिस्तानविरुद्ध पनि मीना सुनार, सुनिता खत्री र सलिना बुढामगरले सानदार प्रदर्शन गरेका थिए । प्रशिक्षक भट्टले पहिलो खेलमा जस्तै मीना, सुनिता, उषा भण्डारी, कप्तान निरुता, कामना विष्ट, सुमित्रा रेग्मी र लिबेरो सलिना श्रेष्ठलाई अवसर दिएका थिए । मीना र सुनितासहित सलिना बुढामगर, जसना महतो र वसन्ती साउदले शुक्रबार मात्रै भारतविरुद्ध डेब्यु गरेका थिए । सुरुबाटै नेपालले किर्गिस्तानलाई दबाबमा राखेको थियो । पहिलो सेट नेपालले २५–१८ ले जित्यो । दोस्रो सेटमा नेपाल पुनः २५–२० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा भने किर्गिस्तानका खेलाडी चल्नै सकेनन् । नेपालले एकोहोरो अंक जोडिरह्यो । नेपालले २५ अंक जोड्दा उसले मात्र १३ अंक जोडेको थियो ।