मुगुको मुगु कार्मारोङ गाउँपालिका–२, सिरानीचौर नजिकै मुगु कर्णाली नदीकिनारमा खेलिरहेका दुई बालबालिका नदीले बगाएर बेपत्ता भएका छन्। शुक्रबार बेलुकी करिब ६:५० बजे नदीकिनारमा खेल्दै गरेको अवस्थामा उनीहरू बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा स्थानीय पेमा लामाकी ३ वर्षीया छोरी कासाङ छोतेल लामा र टोमा लामाका तीन वर्षीय छोरा तेन्जिङ जेबाल लामा रहेको जिल्ला प्रहरी कार्यालयले मुगुले जनाएको छ। शुक्रबार बेलुकी ६:५० बजेतिर नदीकिनारमा खेल्ने क्रममा उनीहरूलाई कर्णाली नदीले बगाएको स्थानीयले जानकारी दिएका थिए।
घटनाबारे शुक्रबार साँझ ७ः३० बजे यार्सा संकलन सुरक्षा डिउटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षक धनबहादुर रावललाई जानकारी प्राप्त भएपछि निरीक्षक रावलको कमान्डमा १० जनाको टोली तथा स्थानीयवासी मिलेर खोजी कार्य जारी रहेको छ।
यसैगरी, अस्थायी प्रहरी पोस्ट चितैकुनाबाट प्रहरी हवल्दारको कमान्डमा थप पाँचजनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी गराए। हाल बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको उनको भनाइ छ।