भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । भुवनले शुक्रबार इभन पार ६८ खेल्दै समग्रमा ११ अन्डर दुई सय ६१ को स्कोर गर्दै उपाधि हात पारेका हुन् । उनले दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई दुई स्ट्रोकले हराउँदै सिजनको चौथो उपाधि हात पारे । समग्रमा उनको यो करिअरकै १५औँ उपाधि हो । उनले एक लाख ३० हजार रुपैयाँ जितेका छन् ।
एमेच्योर राहुल र प्रोफेसनल गल्फर दिनेशले समग्रमा नौ अन्डर दुई सय ६३ को स्कोर गर्दै संयुक्त रूपमा दोस्रो स्थान रक्षा गरे । प्रतियोगिताको अन्तिम दिन उनीहरूले समान चार अन्डर ६४ स्कोर गरेका थिए । दिनेशले ९० हजार रुपैयाँ जिते । शुक्रबहादुर राईले इभन पार ६८ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा आठ अन्डर दुई सय ६४ सहित चौथो हुँदै ७० हजार रुपैयाँ प्राप्त गरे । नीरजले पनि इभन पार ६८ खेल्दै समग्रमा सात अन्डर दुई सय ६५ को स्कोरमा पाँचौँ हुँदा ५५ हजार नगद पुरस्कार पाए ।
एमेच्योरतर्फ समग्रमा नौ अन्डर दुई सय ६३ सहित राहुलले उपाधि जितेका छन् । उनले स्वप्निललाई आठ स्ट्रोकले पछि पारे । स्वप्निल एमेच्योरतर्फ दोस्रो भएका छन् । उनले अन्तिम एक अन्डर ६७ खेल्दै समग्रमा एक अन्डर दुई सय ७१ को स्कोर निकाले ।
भुवनलाई तीन स्ट्रोकको अग्रता
भुवनले अन्तिम दिनको सुरुमा तीन स्ट्रोकको अग्रता लिएका थिए । उनले यसै अग्रतालाई रक्षा गर्दै ट्रफी हात पारे । उनले फ्रन्ट र ब्याक नाइन इभन पार ३४ को स्कोर गरेका थिए । चौथो र पाँचौँ होलमा बर्डी प्रहार गरेका उनले नवौँ होलमा डबल बोगी खेपे । त्यसपछि ब्याक नाइनका सबै होलमा पार जोगाए । राहुलले चौथो र छैटौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन दुई अन्डर ३२ खेले । यसपछि उनले १०औँ, ११औँ र १३औँ होलमा पनि बर्डी प्रहार गरे । उनी ब्याक नाइन दुई अन्डर ३४ स्कोरमा रोकिए । दिनेशले पनि फ्रन्ट र ब्याक नाइनमा दुई अन्डर ३२ मा सकाए । सूर्य नेपाल प्रालिको प्रायोजनमा पिजिए नेपालद्वारा आयोजना भएको प्रतियोगितामा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।