सूर्य नेपाल च्यालेन्ज : शीर्ष स्थानमा भुवनलाई ३ स्ट्रोकको अग्रता

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन समग्रमा ११ अन्डर १९३ स्कोर गर्दै शीर्ष स्थान बलियो बनाएका छन् । उनले तेस्रो दिन बिहीबार ३ अन्डर ६५ स्कोर गर्दै शुक्रबहादुर राईलाई ३ स्ट्रोकले पछि पारेका छन् । इभन पार ६८ को स्कोरमा समग्रमा ८ अन्डर १९६ सहित शुक्र दोस्रो स्थानमा झरेका छन् । उनी भुवनसँगै संयुक्त रूपमा शीर्ष स्थानमा रहेका थिए । 

समग्रमा ७ अन्डर १९७ स्कोरमा नेपालका नम्बर एक गल्फर नीरज तामाङ र धनबहादुर थापा संयुक्त रूपमा तेस्रो स्थानमा रहे । नीरजले ६ अन्डर ६२ र धनले २ अन्डर ६६ स्कोर गरेका थिए । समग्रमा ५ अन्डर १९९ स्कोरसहित एमेच्योर राहुल विश्वकर्मा तथा प्रो गल्फर रामे मगर र दिनेश प्रजापतिले संयुक्त रूपमा पाँचौँ स्थान बाँडे । राहुलले ३ अन्डर ६५ स्कोर गरेका थिए । रामे र दिनेशले समान २ अन्डर ६६ को कार्ड बनाए । ६ अन्डर ६२ को उत्कृष्ट नतिजामा टंकबहादुर कार्की समग्रमा ४ अन्डर २०० स्कोरसहित आठौँ स्थानमा उक्लिए । पाँचौँ स्थानमा रहेका राहुल एमेच्योरतर्फ शीर्ष स्थानमा छन् । उनले स्वप्निल भट्टराईलाई ५ स्ट्रोकले पछि पारे । शीर्ष स्थानमा एकल अग्रता बनाएका भुवनले फ्रन्ट नाइन २ अन्डर ३२ स्कोरमा खेल सकाए । उनले पहिलो, चौथौ र पाँचौँ होलमा बर्डी प्रहार गरेका थिए । भुवनले १६औँ होलको बोगीले ब्याक नाइन १ अन्डर ३३ स्कोर गरे । 

शुक्रको खराब प्रदर्शन
शुक्रले फ्रन्ट र ब्याक नाइनमा इभन पार ३४ स्कोर गरेका थिए । उनले पहिलो र चौथो होलमा एक–एक सट बचाउँदा तेस्रो र छैटौँ होलमा बोगी खेपे । नीरजले बोगीरहित फ्रन्ट नाइन खेल्दै चार बर्डी प्रहार गरे । उनले फ्रन्ट नाइन ४ अन्डर ३० र ब्याक नाइन २ अन्डर ३२ स्कोरमा खेल सकाएका थिए । धनले फ्रन्ट र ब्याक नाइन १ अन्डर ३३ स्कोर गरे । तेस्रो होलमा बोगी खेलेका उनले चौथो र आठौँ होलमा बर्डी प्रहार गरे । 

सुझावित समाचार