चालू आर्थिक वर्ष ०८२/८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम १.३१ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको चालू आवको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन (जिडिपी)सम्बन्धी अनुमानित तथ्यांकले मधेशको अर्थतन्त्र शिथिल देखाएको हो ।
चालू आवमा राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान छ । त्यसमा सात प्रदेशमध्ये मधेशको सबैभन्दा कम देखिएको छ । गत आव ०८०/८१ मा मधेशको आर्थिक बृद्धिदर ४.४३ प्रतिशत थियो । चालू आवमा मधेशको अर्थतन्त्रको आकार भने आठ खर्ब ६३ अर्ब पुग्ने अनुमान गरिएको छ । चालू आवमा नेपालको कुल जिडिपी भने ६६ खर्ब पुग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको आर्थिक वृद्धिदर कम देखिएको बताए । ‘मधेशको आर्थिक वृद्धिदर कमजोर नै देखियो । त्यसको मुख्य कारण धानबालीको उत्पादनमा आएको गिरावट हो । मधेशमा यो वर्ष धानबालीको उत्पादन ११ प्रतिशतले घटेको छ । त्यसले गर्दा मधेशको कृषि क्षेत्र नै नकारात्मक छ,’ उनले भने, ‘यसैगरी, मधेशमा पर्यटन, होटेल, लज, वित्तीय क्षेत्र पनि सुस्त देखियो । उत्पादन क्षेत्र पनि कमजोर नै देखियो । मधेश प्रदेशको खर्च पनि कमजोर देखियो । खर्च कम भएपछि बजारमा पैसा कम भयो । त्यसले आर्थिक गतिविधि बढ्न सकेन । यी यस्ता कारण मधेशको आर्थिक वृद्धिदर कमजोर देखियो ।’
उर्वर भूमिमै कृषि क्षेत्र नकारात्मक
मधेश प्रदेश कृषि क्षेत्रका लागि उर्वर मानिन्छ । तर, चालू आवमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ । चालू आवमा मधेशको कृषि क्षेत्र १.२६ प्रतिशतले नकारात्मक हुने अनुमान गरिएको छ । गत आवमा मधेशको कृषि क्षेत्रको वृद्धिदर ४.३७ प्रतिशत थियो ।
बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा उच्च
चालू आवमा बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ । तथ्यांकअनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत हुने अनुमान गरिएको छ । गत आवमा यहाँको आर्थिक वृद्धिदर ५.२९ प्रतिशत थियो । संघीय राजधानी काठमाडौंसहित चितवनजस्ता ठुला सहर र त्यहाँ हुने आर्थिक गतिविधिले यस प्रदेशको आर्थिक वृद्धिदर उच्च बनाएको देखिन्छ । बागमती प्रदेशको जिडिपीको आकार भने २४ खर्ब २३ अर्ब हुने अनुमान गरिएको छ ।
अन्य प्रदेशको कस्तो छ वृद्धिदर ?
चालू आवमा कोशी प्रदेशमा ३.१३ प्रतिशत, गण्डकी प्रदेशमा ५.०१ प्रतिशत, लुम्बिनी प्रदेशमा २.८७ प्रतिशत, कर्णाली प्रदेशमा २.९४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.२८ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । चालू आवमा राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा कोशीमा २.७२ प्रतिशत, बागमतीमा ५.२९ प्रतिशत, गण्डकीमा ४.९२ प्रतिशत, लुम्बिनीमा ४.२७ प्रतिशत, कर्णालीमा ५.२५ प्रतिशत र सुदूरपश्चिममा ३.२१ प्रतिशतको आर्थिक वृद्धि भएको संशोधित अनुमान छ ।
कुन प्रदेशको जिडिपी कति ?
समग्र मुलुकको जिडिपीको आकार ६६ खर्ब हुँदा बागमती प्रदेशको मात्रै २४ खर्ब २३ अर्ब हुने अनुमान गरिएको छ, जुन ३६.७ प्रतिशत हो । यस्तै, कोशी प्रदेशको १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनी प्रदेशको नौ खर्ब ३७ अर्ब (१४.२ प्रतिशत), मधेश प्रदेशको आठ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको पाँच खर्ब ९३ अर्ब (९ प्रतिशत), सुदूरपश्चिम प्रदेशको चार खर्ब ६४ अर्ब (७ प्रतिशत) र कर्णाली प्रदेशको दुई खर्ब ७७ अर्ब (४.२ प्रतिशत)बराबरको जिडिपी रहने प्रारम्भिक अनुमान छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछाने भन्छन्–
धानबालीको उत्पादनमा आएको गिरावटले मधेशको आर्थिक वृद्धिदर कमजोर नै देखियो । मधेशमा यो वर्ष धानबालीको उत्पादन ११ प्रतिशतले घटेको छ । त्यसले गर्दा मधेशको कृषि क्षेत्र नै नकारात्मक छ, यसैगरी, मधेशमा पर्यटन, होटेल, लज, वित्तीय क्षेत्र पनि सुस्त देखियो । उत्पादन क्षेत्र पनि कमजोर नै देखियो । मधेश प्रदेशको खर्च पनि कमजोर देखियो । खर्च कम भएपछि बजारमा पैसा कम भयो । त्यसले आर्थिक गतिविधि बढ्न सकेन । यी यस्ता कारण मधेशको आर्थिक वृद्धिदर कमजोर देखियो ।