चार वर्ष मन्त्रालय चहारेर फर्कियो प्रादेशिक अस्पतालको ‘ओएमएन’

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा हाल ५० बेडको स्वीकृति छ। ०६३ सालमा ५० बेडको स्वीकृति पाएको अस्पतालले त्यसपछि बेड तथा जनशक्ति थपको कुनै अनुमति पाएको छैन । तर, बिरामीको चापलाई मध्यनजर गरी एक सय ४१ बेड सञ्चालनमा छ। यसलाई दुई सय बेडको बनाउने भनी अस्पतालले ०८० सालमै संगठन तथा व्यवस्थापन (ओएमएन) सर्वेक्षण पास गरिदिनका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयसमक्ष पठायो।

स्वास्थ्य मन्त्रालयले अर्थको सहमति पनि लिएर मन्त्रिपरिषद् बैठकका लागि मुख्यमन्त्री कार्यालय पठाएको थियो। तर, मुख्यमन्त्री कार्यालयमै अड्किएको फाइल अहिले प्रादेशिक अस्पतालमै फर्किएको छ । ‘बिरामीको चाप धेरै छ, हामीले शय्या बढाएर पनि सेवा दिनुपरेको छ,’ अस्पताल प्रशासन स्रोतले भन्यो, ‘तर, चार वर्षदेखि हाम्रो ओएमएन सर्भेमा प्रदेश सरकारले बेवास्ता गर्यो  ।’ अहिले त्यो सर्भे नयाँ कार्यविधि आएको भन्दै अस्पतालमै फर्किएको छ । गएको फागुनै अस्पतालमा त्यो सर्भेको फाइल फिर्ता भएको हो । अब फेरि नयाँ फाइल तयार गरेर पठाउन भनी मन्त्रालयले भनेको छ ।

अस्पताललाई रेफर सेन्टरका रूपमा ताेकिएको अवस्थामा सरकारले पनि ओएमएन पास गर्नेतर्फ कुनै ध्यान नदिँदा अस्पताललाई निकै समस्या हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बताए । ‘म पनि पदवहाल भएको भर्खरै हो,’ उनले भने, ‘तर, अहिले जनशक्तिको जे समस्या देखिएको छ, त्यसलाई समाधान गर्ने कुरा मेरो जिम्मेवारीको कुरा हो, यसलाई मिलाउनेतर्फ पूर्ण रूपमा लाग्छु ।’  

दुई सय बेड बनाउने उक्त सर्भेमा ५१५ जना चिकित्सक तथा कर्मचारीको प्रस्ताव गरिएको थियो । जसमा विशिष्टीकृत सेवासमेत सुरु गर्ने गरी जनशक्ति माग गरिएको भए पनि त्यो फाइल मन्त्रालयले कहिले यता र कहिले उता बनाउँदैमा ठिक्क भयो । स्रोतका अनुसार प्रदेश मुख्यमन्त्री, अर्थमन्त्री र स्वास्थ्यमन्त्रीबिचको जस कसले लिने भन्ने होडबाजी हुँदा ओएमएन सर्भेको काम रोकिएको हो  । हाल अस्पतालमा ७४ जनाको दरबन्दी रहेको छ ।

सुझावित समाचार