नेपालको विद्युत् प्रसारण प्रणाली र विद्युत् आपूर्तिमा भएको समस्यालाई समाधान गर्न वैकल्पिक रूपमा रुफटप सोलार प्लान्टलाई प्रोत्साहन गर्नुपर्नेमा विज्ञ तथा व्यवसायीहरूले जोड दिएका छन् ।
बुधबार घाम पावर र बिजनेस पानाले आयोजना गरेको ‘दि मिडिया राउन्डटेबल फर दी फ्युचर’ कार्यक्रममा बोल्ने व्यवसायी तथा विज्ञहरूले रुफटप सोलार प्लान्टलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन् ।
हाल नेपालभर ६० मेगावाट हाराहारीमा रुफटप सोलार विस्तार भएको छ, जुन राष्ट्रिय प्रसारण प्रणालीभन्दा बाहिर छ । विभिन्न होटेल, उद्योग तथा व्यक्तिहरूले व्यक्तिगत प्रयोजनका लागि छतमा सोलार प्लान्ट राखेर विद्युत् आपूर्ति लिइरहेका छन् । त्यसलाई अझ प्रोत्सहन गर्नुपर्ने घाम पावरका प्रमुख कार्यकारी अधिकृत एन्जल निरौलाले बताए ।
‘नेपालभर गुणस्तरीय विद्युत् विस्तार गर्नका लागि प्रसारणलाइन र वितरणलाइनको क्षमता बढाउन आवश्यक छ । त्यसलाई खर्बौँ रुपैयाँ लगानी लाग्ने देखिएको छ । त्यससँगै समय पनि धेरै लाग्ने देखिएको छ । त्यो अवस्था उपभोक्ताहरू अझै लामो समय विश्वसनीय बिजुलीबाट वञ्चित हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यो अवस्थामा विकल्पको रूपमा रुफटप सोलारलाई पनि प्रोत्साहन गर्नुपर्छ । यो भएमा उपभोक्ताले सोलार आवरमा सोझै गुणस्तरीय विद्युत् पाउने भए । यसले विद्युत् माग व्यवस्थापन गर्न सहज हुन्छ । प्रसारण तथा वितरण प्रणालीमा पनि लोड पर्दैन ।’
त्यसलाई ब्याट्री स्टोरेज प्रणाली लैजान पनि प्रोत्साहन गर्नुपर्ने उनले बताए । ‘नेपालमा पिकआवरमा विद्युत् व्यवस्थापन गर्न चुनौती भइरहेको छ । हिउँदको समयमा त आयात नै गर्नुपर्छ । तसर्थ, रुफटप सोलारसँगै ब्याट्री स्टोरेजलाई पनि प्रोत्साहन गर्नुपर्छ,’ उनले भने ।
यसैगरी लामो समयदेखि सोलार ऊर्जाको अध्ययनसमेत गर्दै आएका व्यवसायी सन्दीप शाहले रुपटफ सोलारलाई नियमनको दायरामा ल्याउनुपर्ने बताए । ‘अहिले यो नियमनको दायरामा छैन । तर, यो नेपालका लागि आवश्यक छ । तसर्थ, यसलाई नियमनको दायरामा ल्याएर प्रोत्साहन पनि गर्नुपर्छ,’ उनले भने, ‘नियमन भन्दैमा कडाइ गर्ने गरी नियमनको दायरामा ल्याउनुपर्छ भनेको होइन । सरकारी प्रणालीमा रेकर्ड राख्ने गरी यसलाई नियमनको दायरामा ल्याउनुपर्छ ।’
रुफटप सोलारले उद्योगीहरूको खर्चसमेत घट्ने देखिएको छ । तसर्थ, यो उद्योगीहरूका लागि उपयोगी हुने विज्ञहरूको जोड छ । यस्तो बिजुली प्राधिकरणबाट भन्दा सस्तोमा पाइने पनि उनीहरूको भनाइ छ ।