काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा कार्यरत डिएसपी सुनीलजंग शाह वैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन्। विभागीय मूल्य-मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन भई काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सरल, सहज, सुरक्षित बनाउने गरी उनले गरेको कामका आधारमा उनलाई पुरस्कृत गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
डिएसपी शाहले सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण गर्न, परिणाममुखी प्रहरी सेवा प्रदान, ट्राफिक सचेतना तथा सडक सुरक्षा अभिवृद्धि गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आफूलाई दिइएको जिम्मेवारी अनुशासित भई त्रृटिरहित ढंगबाट पारदर्शी रूपमा सम्पन्न गरेको कार्यालयले जनाएको छ।