नेकपा (एमाले)का सांसद गुरु बरालले सरकारले भरपर्दो बसोबासको व्यवस्था नगरी भूमिहीन सुकुमवासीहरूको घरटहरा हटाएको भन्दै उक्त निर्णयलाई गम्भीर र त्रुटिपूर्ण बताएका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भूमिहीन सुकुमवासीहरूको उचित व्यवस्थापन नगरी घरटहरा हटाइनु अमानवीय कदम भएको टिप्पणी गरे।
सांसद बरालले सरकारले राहतस्वरूप प्रतिमहिना १५ हजार रुपैयाँ दिने निर्णयसमेत व्यावहारिक नभएको बताए। काठमाडौंमा उक्त रकमले एउटा परिवारको जीवनयापन सम्भव नरहेको उल्लेख गर्दै उनले सरकारले सुकुमवासीमाथि ठुलो अमानवीय व्यवहार गरेको आरोप लगाए।
उनले होल्डिङ सेन्टरहरूमा सुकुमवासीहरू अत्यन्त कठिन र अमानवीय अवस्थामा बस्न बाध्य भएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि सरकारले तत्काल स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने माग गरे।