कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपिजी)का उपकार्यकारी सचिव डेभिड स्यानन र नीति अधिकृत किया सासलले शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा एपिजीका उपकार्यकारी सचिवले नेपाललाई ग्रे लिस्टबाट हटाउन भइरहेका प्रयास, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको कार्यान्वयन, विभिन्न निकायहरूबिचको समन्वय, कसुरजन्य सम्पत्ति जफत र दक्ष जनशक्तिको व्यवस्थापनजस्ता विषयहरू औँल्याएका थिए।
मन्त्री गौतमले नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताइन्। यसका लागि सम्बन्धित निकायहरूबिच समन्वय सुदृढ गर्ने, सम्पत्ति जफतसम्बन्धी कानुन परिमार्जन गर्ने र दक्ष जनशक्तिको निरन्तरता सुनिश्चित गर्ने उनको प्रतिबद्धता थियो। साथै, भारत र चीनसँग भइसकेको पारस्परिक कानुनी सहायता सम्झौतालाई अन्य देशहरूमा पनि विस्तार गर्दै लैजाने योजना रहेको मन्त्री गौतमले सुनाइन्।