स्यानिटरी प्याडमा लगाएको कर हटाउन रास्वपा सांसद यादवको माग

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले महिनावारी महिलाको प्राकृतिक आवश्यकता भएकाले यससँग जोडिएका सामग्रीमा कर लगाउनु अनुचित भएको बताए।

सांसद यादवले सुरक्षित र स्वस्थ महिनावारी व्यवस्थापन हरेक महिलाको मौलिक अधिकार र सम्मानसँग जोडिएको विषय भएको उल्लेख गर्दै सरकारले महिला सशक्तीकरणका कुरा गर्ने, तर स्यानिटरी प्याडमा कर लगाइरहनु दोहोरो मापदण्ड भएको टिप्पणी गरे। उनले राज्यले महिनावारीलाई राजस्व संकलनको माध्यम बनाउन नहुने उल्लेख गर्दै यस्तो नीति सामाजिक न्याय र लैंगिक समानताको सिद्धान्तविपरीत रहेको बताए। साथै, जनस्वास्थ्यमा नकारात्मक असर पार्ने चुरोट र मदिराजस्ता वस्तुमा कर बढाउन सरकारलाई सुझाव दिएका छन्।

सांसद यादवले महिलाको स्वास्थ्य र सम्मानसँग प्रत्यक्ष सम्बन्धित स्यानिटरी प्याडजस्ता सामग्रीमा लाग्दै आएको कर पूर्ण रूपमा खारेज गरी महिलालाई राहत दिन सरकारसँग आग्रह गरेका छन्।

सुझावित समाचार