इन्धन तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण उद्योग प्रभावित भएको भन्दै मूल्य समायोजनको मागसहित नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका कार्यक्रम सुरु गरेको छ ।
पूर्वनिर्धारित कार्यक्रअनुसार महासंघले सोमबार खानेपानी तथा ढल व्यवस्थापन विभाग र सहरी विकास तथा भवन निर्माण विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो । महासंघअन्तर्गतको एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट दुई विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाई आधा घण्टा धर्ना दिइएको महासंघले जनाएको छ ।
एसोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले महानिर्देशकद्वयलाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको भयावह अवस्थाबारे अवगत गराए । जवाफमा महानिर्देशकद्वयले इन्धन तथा निर्माण सामग्रीमा भइरहेको मूल्यवृद्धिका कारण निर्माण उद्योग असहज अवस्थामा पुगेको स्वीकार गर्दै उपयुक्त ढंगले समस्या समाधानको पहल भइरहेको जानकारी दिए ।