राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग दुईवटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार महिला टोलीले मलेसियामै दुईवटा अन्तर्राष्ट्रिय टी–२० आई खेल खेल्ने जानकारी दिएको हो । दुई राष्ट्रबिचको खेल २० मे र २२ मेमा मलेसियामा हुने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । नेपालले एसिसी महिला प्रिमियर कप र २०औँ एसियन खेलकुद प्रतियोगिताको छनोट खेलअघि मलेसियासँग शृंखला खेल्न लागेको हो ।
महिला टोलीले गत वैशाखमा रुवान्डामा भएको आइसिसी महिला च्यालेन्ज कपमा प्रतिस्पर्धा गरेको थियो । दोहोरो रोउन्ड रोबिन लिगअनुसार भएको प्रतिस्पर्धामा नेपाल दोस्रो स्थानमा रहँदै उपविजेता बनेको थियो । नेपालले त्यसवेलामा उपाधि विजेता अमेरिकालाई मात्र पराजित गर्न सकेन ।
च्यालेन्ज कपमा प्रदर्शन गरेका आधारमा क्यानले एसिसी प्रिमियर कप र एसियाडका लागि खेलाडी छनोट गरेको छ । इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको थियो । यसपटक सिनियर खेलाडी सीता रानामगरले पुनरागमन गरेकी छिन् । सिमाना केसी र सोनी पाख्रिन भने टोलीमा अटाएका छन् ।
हेड टु हेडमा नेपाल बलियो
नेपाल र मलेसियन महिला क्रिकेट टोलीले एकै वर्ष टी–२० आईको मान्यता पाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले दुवै राष्ट्रलाई सन् २०१८ मा टी–२० आई मान्यता प्रदान गरेको थियो । त्यसयता यी दुई टोलीबिच १६ अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले मलेसियामाथि १० खेलमा जित निकालेको छ । मलेसियाले नेपालमाथि ६ खेलमा हराएको छ । सन् २०१९ को १३ जनवरीमा मलेसिया र नेपालबिच पहिलो टी–२० आई भएको थियो । जसमा नेपालले मलेसियामाथि ६ विकेटको जित निकालेको थियो । अन्तर्राष्ट्रिय टी–२० आईमा मलेसियाले नेपालमाथि चौथो भेटमा हराएको थियो । सन् २०२३ को २९ मेमा नेपाल मलेसियासँग पहिलोपटक पाँच विकेटले पराजित भयो । यी दुई राष्ट्रबिच सबैभन्दा जितअन्तर तीन रन रहेको छ । सन् २०२५ को अक्टोबर २ मा मलेसियाले नेपालमाथि तीन रनले पाखा लगाएको थियो । नेपालले मलेसियालाई लक्ष्य पछ्याएको इनिङ्समा सात विकेटको जित अहिलेसम्मकै बृहत् हो । नेपालले मलेसियालाई सन् २०२३ मा क्वालालम्पुरमा पाँच रनले हराएको थियो ।
वरीयतामा नेपाल २१औँ र मलेसिया २७औँ स्थानमा
आइसिसीको टी–२० आई वरीयतामा नेपाल २१औँ र मलेसिया २७औँ स्थानमा छन् । नेपालको तुलनामा मलेसियाले धेरै टी–२० आई खेलेको छ । मलेसियाले अहिलेसम्म १०७ टी–२० आई खेलेको छ, जसमा मलेसियाले ४५ जित र ६० खेलमा हारको सामना गरेको छ । यस वर्ष मलेसियाले १३ टी–२० आई खेल्दा ११ हार र एकमा जित निकालेको छ । यसैगरी, नेपाली महिला टोलीले ९२ टी–२० आई खेलेको तथ्यांक छ, जसमा नेपालले ५३ जित र ३८ खेलमा हार नतिजा निकालेको छ ।