एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने
नेकपा(एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सदस्यता नवीकरणको निर्णय गरेको हो।
यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भण्डारीको सदस्यता नवीकरण रोकिएको थियो। पछिल्लो समय पार्टी समस्यामा परेपछि भण्डारीलाई पनि पार्टीमा स्थान दिन लागिएको छ। भण्डारीले पनि आफ्नो सक्रियता बढाएकी छिन्। कतिपयले भण्डारीकै नेतृत्वमा पार्टी पुनर्गठन र एकताका लागि अभियान थाल्न प्रस्ताव गरेका छन्।
प्रधानन्यायाधीशमा प्रस्तावित न्यायाधीश शर्माविरुद्ध १६ उजुरी
धानन्यायाधीशमा सिफारिस सर्वाेच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ वटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिले २५ वैशाखमा १० दिनको समय दिएर उजुरी आह्वान गरेकामा सोमबार कार्यालय समयभित्र १६ वटा उजुरी परेको समितिकी उपसचिव साबित्रा शर्माले बताइन्।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीहरू मंगलबार ९ः४५ बजे बस्ने समितिको बैठकमा खोलिनेछ भने अध्ययनका लागि सांसदहरूलाई वितरण गरिनेछ। समितिले शर्माको कार्यकुशलता, कार्यदक्षता, कार्यसम्पादन, आचरणसँग जोडिएका विषयमा ४ जेठसम्म उजुरी आह्वान गरेको थियो। संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो।
पक्राउ परेका ४१ कन्सल्टेन्सी सञ्चालक छुटे, २७ जनाविरुद्ध म्याद थप
दर्ता नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीका सञ्चालकमध्ये २७ जनाविरुद्ध मुद्दा प्रक्रिया अघि बढेको छ। ६८ जना पक्राउ परेकोमा प्रहरीले सोमबार २७ जनालाई अदालतमा उपस्थित गराई म्याद थप गरेको हो।
प्रहरीले थप पाँचजनालाई म्याद थपका लागि लगेकामा उनीहरूलाई अदालतले म्याद थप गर्न अस्वीकार गरको छ। अन्य ३६ जनालाई प्रहरीले आफैँ हाजिरी जमानीमा छाडेको छ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपरेसन चलाएर ९५ कन्सल्टेन्सीमा छापा हानी ६८ जनालाई पक्राउ गरेको थियो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा
राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीरगन्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार अपराह्न सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका प्रसाईंलाई राति ८:३० बजे सिद्धार्थ दियालो लर्डस् होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
पत्रकारहरूसँगको भेटघाटमा उनले सरकारको तीव्र आलोचना गरेपछि ‘माथिको आदेश’ भन्दै प्रहरीले नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले जानकारी दिए।
उनका अनुसार प्रसाईंको मंगलबार गहवामाई दर्शन गर्ने कार्यक्रम तय भएको थियो। त्यसपछि वीरगन्ज मेनरोड विस्तारका लागि तोडफोड गरिएका घरधनी तथा पीडितहरूसँग भेटघाट गर्ने समयसमेत तय गरिएको थियो।
विदेशमा रहेका ३६ डाक्टरको लाइसेन्स खारेज गर्ने निर्णय फिर्ता
नेपाल मेडिकल काउन्सिलले ३६ जना चिकित्सकमाथिको कारबाही फिर्ता लिएको छ। दुई चरणमा गरी काउन्सिलले ३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गरेको थियो। विरोधपछि काउन्सिल उक्त निर्णयबाट पछि हटेको हो।
काउन्सिलले ११ र १९ वैशाखमा ३६ जना चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने निर्णय गरेको थियो। तर, चिकित्सकको दर्ता खारेज गर्दा उनीहरू हाल रहेको देश र कार्यरत अस्पतालमा समेत असहज हुने र पेसामा असर पर्ने भएपछि काउन्सिलले उक्त निर्णय फिर्ता लिएको हो।
सन्दीप लामिछानेले तोडे मिचेल स्टार्कको कीर्तिमान
नेपालका लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्। आइसिसी विश्वकप लिग– २ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा तीन विकेट लिएसँगै उनले यो रेकर्ड बनाएका हुन्।
७३ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमै उनले १५० विकेट लिएका हुन्। यसअघि अस्ट्रेलियन बलर मिचेल स्ट्राकको नाममा यो कीर्तिमान थियो। मिचेलले ७६ खेलमा १५० विकेट लिएका थिए।
एकदिवसीयमा सबैभन्दा कम खेलमा एक सय विकेटको रेकर्ड पनि सन्दीपकै नाममा छ। अफगानिस्तानका रसिद खानको रेकर्ड तोड्दै उनले ४२ खेलमा एक सय विकेट लिएका हुन्। त्यस्तै, टी– २० अन्तर्राष्ट्रियमा लगातार सबैभन्दा धेरै खेलमा विकेट लिने कीर्तिमान पनि उनकै नाममा छ। उनले लगातार २६ टी–२० अन्तर्राष्ट्रियमा विकेट लिन सफल भएका थिए।
आधा किलो सुन र विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
झापा जिल्लाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
केन्द्रीय कारागारबाट भागेकी सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा
केन्द्रीय कागाराबाट शुक्रबार भागेकी सपना तामाङ असनको बांगेमुढाबाट आइतबार राति पक्राउ परेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।
अपहरण, हत्या र डकैती मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएकी उनी शुक्रबार कारागारको पर्खालबाट भागेकी थिइन्। त्यसको १२ घण्टापछि मात्र जेल प्रशासनले थाहा पाएको थियो। २५ वर्षीया तामाङको ‘जेलब्रेक’बारे छानबिन गर्न कारागार प्रशासनले छानबिन समिति पनि गठन गरेको छ।
उनलाई भगाउन सहयोग गर्ने भोजपुर घर भएका २६ वर्षीय साजन श्रेष्ठलाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए। श्रेष्ठकी आमा पनि उदयपुर कारागारमा छिन्। प्रारम्भिक छानबिनमा श्रेष्ठ युवतीको प्रेमी भएको खुलेको छ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ भोलि
प्रधानन्यायाधीश सिफारिस सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ भोलि मंगलबार हुने भएको छ।
शर्माविरुद्ध परेका उजुरीहरू मंगलबार ९ः४५ बजे बस्ने समितिको बैठकमा खोलेपछि अध्ययनका लागि सांसदहरूलाई वितरण गरिनेछ। त्यसपछि भोलि नै समितिमा सुनुवाइ हुने भएको हो।
स्कटल्यान्डमाथिको जितसँगै नेपाल लिगको पाँचौँ स्थानमा उक्लियो
आइसिसी विश्वकप लिग– २ मा सोमबार स्कटल्यान्डमाथिकाे जितसँगै नेपाल लिगको अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। सातौँ स्थानबाट नेपाल पाँचौँ स्थानमा उक्लिएको हो।
लिगमा २७ खेल खेलेको नेपालको २२ अंक पुगेको छ। २७ खेलमध्ये नेपालले १० वटा जितेको थियो भने १५ वटामा पराजित भयो। दुई खेल रद्द भएका थिए।
लिगको शीर्ष स्थानमा स्टकल्यान्ड छ। उसले ३८ अंक बटुलेको छ भने दाेस्रो स्थानमा अमेरिका, तेस्रोमा ओमान र चौथोमा नेदरल्यान्ड्स छ। एकदिवसीय मान्यता कायम राख्न शीर्ष चारमा पर्नुपर्नेछ।