ट्युनिसियाले अर्को महिना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक साब्री लामुचीले आइतबार अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि टोली घोषणा गरेका हुन् । विश्वकपको समूह ‘एफ’मा रहेको ट्युनिसियाले जापान, नेदरल्यान्ड्स र स्विडेनको सामना गर्नेछ । प्रशिक्षक साब्रीले टोली घोषणा गर्दा जर्मन मूलका रानी खेदिरालाई समेटेका छन् ।
ट्युनिसियाको टोलीमा चर्चित खेलाडी नै खेदिरा नै हुन् । उनले पहिलोपटक ट्युनिसियाबाट विश्वकपमा आफ्नो उपस्थिति जनाउनेछन् । ३२ वर्षीय खेदिराले गच मार्चमा ट्युनिसियाबाट विश्वकप खेल्ने निर्णय गरेका थिए । यसअघि उनले हायटी र क्यानडाविरुद्धको मैत्रीपूर्ण खेलमा ट्युनिसियाबाट प्रतिस्पर्धा गरेका थिए ।
प्रशिक्षक साब्रीले विश्वकप टोली घोषणा गर्दा युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेका छन् । सन् २०२५ को अफ्रिका कप अफ नेसन्समा सहभागी सबै खेलाडीले विश्वकपका लागि स्थान बनाउन सकेनन् । प्रशिक्षक साब्रीले नयाँ अनुहार समावेश गरेका छन् । ट्युनिसियाको राष्ट्रिय टोली हेरेयता साब्रीले विश्वकपकै मध्यनजर गरेर टोलीलाई नयाँ स्वरूप दिने र नयाँ खेलाडीमाथि विश्वास गरेका छन् । खेदिरासँगै केही युवा खेलाडीले टोलीमा स्थान पाएका छन् । खलिल आयारी, राएद चिखाउई, रायान एलौमी र ओमार रेकिकले पुनरागमन गरे ।
आइभोरी कोस्ट डिफेन्स र मिडफिल्डमा केन्द्रित
अफ्रिकी राष्ट्र आइभरी कोस्ट १२ वर्षपछि विश्वकपमा फर्किएको हो । मुख्य प्रशिक्षक एमर्स फाएले विश्वकपका लागि टोली घोषणा गर्दा डिफेन्स र मिडफिल्डमा मुख्य ध्यान दिएका छन् । ४२ वर्षीय प्रशिक्षक फाएले यसपटक रक्षापंक्ति र मिडफिल्डमा अनुभवी खेलाडीलाई प्राथमिकतामा राखेर टोली घोषणा गरेका छन् । उनले रक्षापंक्तिमा अनुभवी खेलाडी घिस्लेन कोनान, विल्फ्रिड सिंगो, गुएला डुए र आइभोरियन समावेश गरेका छन् ।
मिडफिल्डमा कप्तान फ्रान्कले जिम्मेवारी पाएका छन् । नेसन्स कपमा आइभरी कोस्टको फिनिसिङ बलियो देखिएको थियो । तर, प्रशिक्षक फाएले विश्वकपमा फरक रणनीतिका साथ प्रतिस्पर्धा गर्ने बताएका छन् । यसकारण उनले कम गोल खाने र खेल नियन्त्रणमा राख्न मिडफिल्डमा अनुभवी खेलाडी समावेश गरेको बताएका छन् । घोषित टोलीमा अमाद डयालोले आरबी लाइपजीबाट प्रतिस्पर्धा गर्छन् । यसैगरी, यान डियोमान्डे पनि बुन्डेस लिगमै आबद्ध छन् । टोलीमा नयाँ खेलाडीका रूपमा इभान गेसाँड रहेका छन् । यसैगरी, सिरिए टोली इन्टरमिलानका योआन बोन्नी पनि टोलीमा परेका छन् ।
५२ वर्षपछि फर्किएकोे हाइटी
सन् १९७४ पछि हाइटी विश्वकपमा फर्किएको छ । यसपटकको विश्वकपमा हाइटीले युवा तथा अनुभवी खेलाडीलाई समावेश गरी २६ सदस्यीय टोली घोषणा गरेको छ । क्यारिबियन राष्ट्र हाइटीले ५२ वर्षअघिको विश्वकपमा गतिलो प्रदर्शन गर्न सकेको थिएन । यसपटक कम्तीमा एउटा जित निकाल्ने लक्ष्य हाइटीको छ । मुख्य प्रशिक्षक सेबास्टियन मिग्नेले स्कटल्यान्ड, ब्राजिल र मोरक्को सम्मिलित समूहमा प्रतिस्पर्धा गर्ने टोलीमा सिनियर खेलाडीको बाहुल्यता छ । कप्तान तथा गोलरक्षक जोह्नी प्लासिड, डिफेन्डर रिकार्डो अडे र कार्लेन्स आर्कस हाइटीका मुख्य खेलाडीमा पर्छन् । यो सिजन फ्रेन्च लिग वानमा कार्लेन्सले उत्कृष्ट प्रदर्शन गरेका थिए । मिडफिल्डमा पिएरे र डान्ली ज्याक र स्ट्राइकरमा डकेन्स नाजोन छन् । प्रशिक्षक मिग्नेले प्रयोगका रूपमा नयाँ खेलाडीलाई टोलीमा राखेका छन् ।