नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक रूपान्तरण हुने गरी आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट ल्याउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव दिएको छ । आइतबार महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थमन्त्रीलाई आगामी बजेटमार्फत अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको हो । महासंघले खस्किँदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सिर्जना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न, रोजगारी सिर्जना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ ।
अर्थमन्त्रीसमक्ष सुझाव पेस गर्दै महासंघका अध्यक्ष श्रेष्ठले महासंघले हालै सार्वजनिक गरेको ‘६ स्तम्भ, ६० पहल’सहितको साझा राष्ट्रिय रूपरेखाले सरकारकै नीति तथा कार्यक्रमलाई सहयोग गर्ने बताए । भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी रूपान्तरणकारी बजेट आउने बताए ।
उनले सरकार निजी क्षेत्रलाई मुख्य साझेदार मानेरै अगाडि बढ्न प्रतिबद्ध रहेको प्रस्ट पार्दै महासंघको प्रतिनिधिमण्डललाई आशावादी रहन आग्रह गरे । ‘हामीले राजनीतिमा परिवर्तन ल्याएका छौँ । अब अर्थतन्त्रमा परिवर्तन ल्याउनु छ,’ उनले भने ।