कामीरिता र लाक्पाको विश्व कीर्तिमानमा प्रधानमन्त्री बालेनको बधाई

आइतबार, ३ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ३२औँपटक सफलतापूर्वक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा तथा ११ औँ पटक सगरमाथा चढ्दै नयाँ विश्व कीर्तिमान बनाएकी लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले नेपाली आरोहीहरूको यो ऐतिहासिक सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचानलाई थप उज्यालो बनाउने विश्वास व्यक्त गरेका हुन्।

कामीरिता शेर्पाले आज बिहान १०:१२ बजे ३२ औँपटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई पुनः नवीकरण गरेका थिए। प्रधानमन्त्री शाहले सगरमाथा केवल भौगोलिक उचाइ नभई नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको प्रतीक भएको उल्लेख गर्दै नेपाली आरोहीहरूले फेरि इतिहास रचेको बताएका छन्। त्यस्तै, ‘माउन्टेन क्विन’का रूपमा परिचित लाक्पा शेर्पाले आज बिहान ९:३० बजे ११औँपटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने विश्व कीर्तिमान कायम गरेकी छिन्।

प्रधानमन्त्री शाहले निरन्तरको साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता सम्भव हुने उल्लेख गर्दै दुवै आरोहीलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

उनले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको उल्लेख गर्दै हिमाललाई ईश्वरसरह सम्मान गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू हिमालयका अदृश्य नायक भएको बताएका छन्।

प्रधानमन्त्री शाहले सम्पूर्ण नेपालीको तर्फबाट कामीरिता शेर्पा, लाक्पा शेर्पा, शेर्पा समुदाय तथा पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

सुझावित समाचार