नेपाल-चीन सीमाबाट भेपसहित सात जना पक्राउ

भेपकाे अन्दाजी नेपाली मूल्य ५६ लाख ७० हजार पर्ने प्रहरीको प्रारम्भीक अनुमान

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल-चीन सीमा काेदारीमा तैनाथ नेपाल प्रहरीले भेपसहित सात मानिसलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काेदारीका इन्स्पेक्टर जगतबहादुर राईकाे कमाण्डमा रहेकाे प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हाे  ।

जेठ १ गते राती साँढे नाै बजे भाेटेकाेसी गाउँपालिका वडा नं. ३ दशकिलाे खाेलाकाे पुलबाट भेप नियन्त्रण गरिएकाे इन्स्पेक्टर राइले बताए । खासाकाे रमिते, लासाङ हुँदै जंगलकाे बाटाे उनीहरु दशकिलाे पुलमा निस्किएका थिए । भारी बाेकेर आएको देखेपछि प्रहरी टोलीले शंकाकाे आधारमा चेकजाँच गर्दा सबैबाट भेप बरामद भएको थियाे ।

जंगलकाे बाटाे भाेटेकाेसी नदी तरेर चिनियाँ भूभागबाट नेपाल प्रवेश गरेका ती मानिसले बाेकेर ल्याएको नाै वटा बोराले छोपेको कार्टुनभित्र  १६ सय २० थान भेप प्रहरीले बरामद गरेकाे छ ।

भेपकाे अन्दाजी मूल्य ५६ लाख ७० हजार पर्ने राइले जानकारी दिए । 'हामीले भेपसहित समातेका सात मानिसलाई तातोपानी भन्सार कार्यालयमा बुझाएका छाैँ,' उनले भने ।

प्रहरीले भेप बाेकेर आउने भोटेकोसी-४ वस्ने ३५ वर्षीय गणेश खड्का, वर्ष ४६ का हिमाल खड्का, वर्ष २४ का विकाश बिक, ४८ वर्षीय  रामबहादुर बिक, वर्ष १७ का विशाल रक्पाल, वर्ष ३७ का मंगलबहादुर थामी र  बाह्रबिसे-५ वस्ने वर्ष ४२ का कान्छा तामाङलाई नियन्त्रणमा लिएर भन्सारमा बुझाइएको छ ।

सुझावित समाचार