बलियो अमेरिकाविरुद्ध नेपाल आज भिड्दै

अमेरिकालाई पछिल्ला चार खेलमा हराउन नसकेको नेपालले घरेलु मैदानको फाइदा लिन सक्ने अपेक्षा

शनिबार, २ जेठ, २०८३
डिजिटल संस्करण

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेको आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली नेपाल र अमेरिकाले आ–आफ्ना समान एक खेल गुमाएका छन् । सहभागीमध्ये स्कटल्यान्डले दुई खेलमा जित निकालेको छ । संयोग यस्तो रह्यो कि स्कटल्यान्डले नेपाल र अमेरिकालाई डकवर्थ लेविस नियमअनुसार दुई रनले हराएको थियो । लगातार दुई खेलमा जित निकालेको स्कटल्यान्ड अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदा अमेरिका भने दोस्रो स्थानमा झरेको छ ।

स्कटल्यान्डले ३० खेलमा सर्वाधिक ३८ अंक बनाएको छ । अमेरिकाले २५ खेलबाट ३६ अंक जोडेको छ । नेपालले २५ खेलमा १८ अंक बटुलेको छ । यो अंकका साथ नेपाल सातौँ स्थानमा छ । घरेलु टोली नेपाल भने यस सिरिजमा उत्कृष्ट नतिजा निकाली एकदिवसीय मान्यता रक्षा गर्ने योजनामा छ । तर, पहिलो खेलमा झिनो दुई रनको हारले नेपालको अभियानमा केही धक्का लागेको छ । अब शनिबार नेपालले बलियो अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । तर, नेपाललाई अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्न त्यति सहज भने छैन ।

अमेरिकाले स्कटल्यान्डसँगको प्रतिस्पर्धामा प्रतिओभर ७.२१ को रनरेटमा ब्याटिङ गरेको थियो । लगभग अमेरिकाले स्कटल्यान्डलाई हराइसकेको थियो । तर, अन्तिम ओभरमा आवश्यक रन बटुल्न नसक्दा अमेरिकाले दुई अंक गुमाएको थियो । ब्याटिङ र बलिङमा अमेरिकन खेलाडीमा केही कमजोरी छैन । यसको विपरीत भने नेपाल कमजोर देखिन्छ । नेपाली खेलाडीको परम्परागत कमजोरी नै निर्णायक प्रतिस्पर्धामा खरो रूपमा प्रस्तुत हुन नसक्नु हो । फेरि अक्सर अन्तिम ओभरमा नेपालका खेलाडी नर्भस हुने गरेका छन्, जुन नेपालले स्कटल्यान्डको खेलमा देखाएको थियो ।

अमेरिकामाथि जित निकाल्नु छ भने नेपालले ब्याटिङमा पहिलो सुधार गर्नुपर्नेछ । प्रशिक्षक स्टुवार्टले यसै सिरिजका लागि केही खेलाडी परिवर्तन गरेका थिए । यद्यपि, उनले प्रयोग गरेका खेलाडीबाट आशा गरेको जस्तो प्रदर्शन हुन सकेको छैन । ईशान पाण्डे, विनोद भण्डारी र आसिफ सेखले सुरुवाती पावर प्लेमा नेपाललाई गतिलो सुरुवात दिलाएका छैनन् । नेपालले ओपनिङमा दमदार साथ पाउँदा अमेरिकाविरुद्ध चुनौतीपूर्ण प्रदर्शन गर्न सक्छ ।

हेड टु हेडमा अमेरिका अगाडि 
एकदिवसीय फर्म्याटमा अमेरिका र नेपालबिच अहिलेसम्म ११ खेल भएका छन् । जसमध्ये अमेरिकाले नेपालमाथि ६ खेलमा जित निकालेको छ । नेपालले चार अवसरमा अमेरिकालाई पाखा लगाएको छ । उनीहरूबिच एक खेल टाई भएको थियो । यी दुई राष्ट्रबिच अन्तिम चार खेलमा अमेरिका अपराजित छ । सन् २०२३ मा अमेरिकामाथि नेपालले अन्तिमपटक जित निकालेको थियो । त्यसयता नेपालले उसलाई हराउन सकेको छैन । तर, त्रिवि क्रिकेटमा भएका दुई खेलमा भने नेपालले अमेरिकालाई हराएको अवस्था छ । घरेलु मैदानमा नेपालले अमेरिकासँग राम्रो खेल्ने विश्वास छ । अमेरिकासँगकै खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ गरी सर्वाधिक ६ विकेट लिएका थिए । यस खेलमा अमेरिका नेपालविरुद्ध केवल ३५ रनमै अलआउट भएको थियो ।

दीपेन्द्र र सन्दीप फर्ममा
अहिले ब्याटिङ र बलिङमा उपकप्तान दीपेन्द्रसिंह ऐरी र बलिङमा सन्दीप लामिछाने मात्र चलेका छन् । दीपेन्द्र लगातार फर्ममा छन् । उनले पाँच खेलमा तीन अर्धशतक र एक शतकीय इनिङ्स खेलेका छन् । सन्दीपले समग्रमा १२ विकेट लिएका छन् । सन्दीपबाहेक बलिङमा आशा गरेका अन्य बलरले इकोनोमी रेटमा प्रदर्शन गर्नुपर्ने देखिन्छ । बलरले विकेट लिइरहे पनि इकोनोमी रेट निकै हाई देखिन्छ । अमेरिकाले पछिल्लो सातमध्ये ६ खेल आफ्नो पक्षमा राखेको छ । नेपालले पाँचमध्ये तीन खेलमा मात्र जित निकालेको छ । त्यो पनि दुई साताअघि त्रिवि मैदानमै भएको आइसिसी विश्वकप लिग–२ मा युएईलाई दुईपटक र ओमानलाई एकपटक हराएको थियो । नेपालका प्रशिक्षक स्टुवार्ट लले पनि अमेरिकासँगको खेलमा खेलाडी केन्द्रित हुनुपर्ने जनाएका छन् । विश्वकप लिग–२ को निर्णायक मोडमा रहँदा नेपालले प्रत्येक खेलमा कडा मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । ‘स्कटल्यान्डविरुद्ध हामीले गल्ती गरेका थियौँ, तर अमेरिकासँगको प्रतिस्पर्धामा त्यस्ता गल्ती दोहोर्याउनुहुँदैन,’ उनले गत बुधबार भनेका थिए, ‘मलाई आशा अमेरिकासँगको प्रतिस्पर्धामा खेलाडीहरू लयमा फर्कनेछन् ।’ 

See More On

सुझावित समाचार