मकवानपुर प्रहरीले लागुऔषध हेरोइन र अफिमसहित तीनजनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका– ४, कमलडाँडास्थित एक डेराबाट खैरो हेरोइनजस्तो पदार्थ र अफिमजस्तो गिलो पदार्थ बरामद भएपछि प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको हो।
वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिहीबार बेलुका सजिना लामा पाख्रिनको डेरामा छापा मारेको थियो। खानतलासीका क्रममा प्रहरीले ३७० मिलिग्राम खैरो हेरोइन, १६ ग्राम ३८० मिलिग्राम अफिम र डिजिटल तौल मेसिन बरामद गरेको छ।
प्रहरीले हेटौँडा उपमहानगरपालिका– १५ घर भई हाल वडा नम्बर ४ मा बस्दै आएकी २२ वर्षीया सजिना लामा पाख्रिन, २७ वर्षीय अमुल प्रजापति र २८ वर्षीय विमल श्रेष्ठलाई पक्राउ गरेको छ।
पक्राउ परेका तीनैजनाविरुद्ध लागुऔषध कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।