काठमाडौं महानगरपालिकाभित्र रहेको बाल व्यवसायी केन्द्र मावि सिफलमा लिफ्ट जडान गरिएको छ। विद्यालयमा अपांगता भएका विद्यार्थीसमेत अध्ययन गर्छन्। उनीहरूको सहजताका लागि चारतले भवनमा लिफ्ट जडान गरिएको हो।
शुक्रबार लिफ्टको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले लिफ्टले अपांगता भएका विद्यार्थीलाई सहायता मिल्ने बताइन्। ‘विद्यार्थीको पठनपाठन र सिकाइका लागि भौतिक संरचना व्यवस्थित हुनुपर्छ, यहाँ अध्ययनरत विद्यार्थीलाई यो लिफ्टले अत्यन्तै सहज हुनेछ,’ उनले भनिन्।
अपांगता भएका बालबालिकाले सहज रूपमा सिक्न पाउनुपर्छ भनेर महानगरले काम गरिरहेको उल्लेख गर्दै उनले थपिन्, ‘धेरै अभिभावकलाई बालबालिकालाई कहाँ पढाउने होला भन्ने चिन्ता छ, अझ अपांगता भएका बालबालिकालाई स्कुलले भर्ना लिनसमेत असहज मान्छन्, भर्ना लिए पनि भौतिक संरचना असहज हुन्छ, त्यसैले अपांगता भएका बालबालिकाले सहज रूपमा सिक्न पाउनुपर्छ भनेर महानगरले काम गरिरहेको छ।’
लिफ्ट काठमाडौं महानगरको खर्चमा जडान भएको हो। चार सय विद्यार्थी रहेको यस विद्यालयमा ३० भन्दा बढी अपांगता भएका विद्यार्थी अध्ययनरत छन्।