फिफा वरीयतामा नेपालको सुधार

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण
  • फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा पुरुषतर्फ नेपालले ६ र महिलामा दुई स्थान सुधार गर्यो 

फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले ६ स्थान सुधार गरेको छ । फिफाले बिहीबार मे महिनाको नयाँ वरीयता सार्वजनिक गर्दा नेपाल १७६औँ स्थानमा रहेको छ । यसअघि नेपाल १८२औँ थानमा थियो । नेपालले साउदी अरबमा सन् २०२७ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगितामा एक जित निकालेको थियो । मलेसियाले नेपालविरुद्ध गैरखेलाडी समावेश गरेको प्रमाणित भएपछि एएफसीले नेपाललाई ३–० ले विजयी घोषणा गरेको थियो ।

यसै एक जितका साथ नेपालले फिफा वरीयतामा ६ स्थान सुधार गरेको हो । नेपालले ९१४ वरीयता अंक पाएको छ । नेपाल पछिल्लो चार अन्तर्राष्ट्रिय खेलमा पराजित भएको छ । यसैगरी, फिफाले महिलातर्फको वरीयता निकाल्दा नेपाली महिला टोलीले पनि स्थान सुधार गरेको छ । महिला टोलीले दुई स्थान सुधारेको हो । अहिले नेपाल विश्व महिला वरीयतामा ८६औँ स्थानमा पुगेको छ । दक्षिण एसियाली राष्ट्र भारत भने दुई स्थान ओरालो लागेको छ । भारत ६९औँ स्थानमा झरेको हो ।

पुरुषतर्फको वरीयतामा भारत दक्षिण एसियाली क्षेत्रमा शीर्ष स्थानमा छ । भारतले पाँच स्थान सुधार गरी १३६औँ स्थानमा उक्लिएको छ । भारतले पछिल्लो खेलमा हङकङलाई २–१ ले हराएको थियो । भारतले यस सिजनमा तीनमध्ये दुई खेलमा जित निकालेको छ । यसैगरी, माल्दिभ्सले १७२ स्थान रक्षा गरेको छ । माल्दिभ्सले पनि एक स्थान सुधार गरेको हो ।

पाकिस्तान वरीयताकै पुछारमा 
दक्षिण एसियाली राष्ट्रमा नेपाल, भारत र माल्दिभ्सले स्थान राम्रो बनाउँदा बंगलादेश भने एक स्थान ओरालो लागेको छ । बंगलादेश १८१औँ स्थानमा रह्यो । यसैगरी, भुटान एकैपटक ६ स्थानमाथि उक्लिएको छ । भुटानले पछिल्लो खेलमा ब्रुनाईमाथि २–१ को जित निकाल्दा १८६औँ वरीयता पायो । श्रीलंकाले तीन स्थान सुधार गर्यो । श्रीलंका अहिले १९१औँ स्थानमा छ । फिफा वरीयताको सबैभन्दा पुछारमा पाकिस्तान रहेको छ । पाकिस्तान तीन स्थान ओरालो लागेको छ । एसियाली राष्ट्रमा जापान शीर्ष स्थानमा छ । जापान समग्र फिफा वरीयताको १८औँ स्थानमा छ । इरानले एक स्थान गुमाएको छ । इरान अहिले २१औँ स्थानमा रहेको फिफाले जनाएको छ । यसैगरी, दक्षिण कोरिया २५औँ स्थानमा छ । एसियाली क्षेत्रमा दक्षिण कोरिया तेस्रो स्थानमा छ । दक्षिण कोरियाले यसपटक तीन स्थान गुमाएको हो । 

फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा
फ्रान्सले यसपटक दुई स्थान सुधार गरी समग्रमा फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । फ्रान्सले पछिल्लो चारै अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । फ्रान्सले सर्वाधिक १८७७ रेटिङ अंक पाएको छ । स्पेन भने शीर्ष स्थानबाट दोस्रोमा झर्यो । 

फ्रान्स र स्पेनबिच केवल एक रेटिङ अंकको फरक छ । विश्वकपको साबिक विजेता अर्जेन्टिना तेस्रो स्थानमा छ । अर्जेन्टिनाले १८७४ रेटिङ अंक बटुल्यो । इंग्ल्यान्ड भने यथावत् चौथो स्थानमा छ । यसैगरी, पोर्चुगल पाँचौँ र ब्राजिल छैटौँ स्थानमा छन् । ब्राजिलले एक स्थान गुमाउँदा पोर्चुगलले एक स्थान राम्रो बनाएको हो । 

See More On

सुझावित समाचार