निर्माण व्यवसायी आन्दाेलित

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

बैतडीका निर्माण व्यवसायी आन्दाेलित बनेका छन्। मूल्यवृद्धिले निर्माण कार्यमा समस्या भएकाे भन्दै उनीहरूले आन्दाेलन सुरु गरेका हुन्। बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिँदै शृंखलाबद्ध आन्दाेलनका कार्यक्रमहरू सुरु गरेकाे निर्माण व्यवसायी संघ, बैतडीका महासचिव विकाश चन्दले बताए।

जिल्लाभरिका निर्माण व्यवसायीहरूले पेट्राेलियम पदार्थकाे मूल्य अत्यधिक वृद्धिले निर्माणका कामहरू ठप्प भएकाले मूल्य समायाेजन गर्नुपर्ने माग राखेका छन्। त्यस्तै, निर्माण व्यवसायीहरू मर्कामा परेका वेला सरकारले कालाेसूचीमा राख्ने, धरपकड गर्ने कार्यकाे पनि विराेध गरेका छन्। उनीहरूले बिहीबार ज्ञापनपत्र बुझाएपछि प्रशासनकाे गेटमा आधा घण्टा धर्ना दिएका छन्।

पहिलाे चरणमा जेठ ४ गतेसम्म विभिन्न सरकारी कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम तय भएकाे बैतडीका निर्माण व्यवसायी दानसिंह रावलले बताए।

हाल सञ्चालनमा रहेका निर्माण कार्यहरू समयमै सम्पन्न हुन नसक्ने अवस्था रहेकाले बैक ग्यारेन्टी, बिमालगायतकाे म्याद थप गर्नुपर्ने, क्षतिपूर्तिकाे व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आन्दाेनलमा उत्रिएकाे रावलले बताए।

सुझावित समाचार