राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले जनताको उत्तरदायित्व रत्नपार्कबाट नभई संसदबाटै खोजिने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि अर्थमन्त्रीले जवाफ दिन गएसँगै विरोध सुरु भएको थियो। विरोधका बिच बोल्दै सांसद शाहीले नीति तथा कार्यक्रम देशको भविष्य निर्माण गर्ने मार्गचित्र भएकाले यसमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने जिकिर गर्दै सभामुखको अस्तित्व माथिसमेत प्रश्न गरे।
उनले भने, ‘यो जनताको सरकार हो। नीति तथा कार्यक्रम देशको भविष्य निर्माण गर्ने कार्यक्रम हो। यस्तो वेलामा समेत प्रधानमन्त्री उपस्थित नभए कहिले हुने? यो सभामुखको समेत अस्तित्वको प्रश्न हो। ’
नीति तथा कार्यक्रम सरकार प्रमुखले नै सुन्ने, प्रस्तुत गर्ने जवाफ दिने कार्यसूची भएकाले प्रधानमन्त्री सिंहदरबारमा कालो चस्मा लगाएर बसेर अर्थमन्त्रीले प्रस्तुत गर्नु अशोभनीय भएको उनले उल्लेख गरे।