नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा नभई संकल्पमा बदल्नुपर्ने बताएका छन्।
जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै पोखरेलले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।
उनले नियमित रूपमा बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको स्थानमा स्मृति दिवस मनाउँदै आएको उल्लेख गर्दै यस वर्ष पनि देशभर रचनात्मक कार्यक्रम सञ्चालन गर्न पार्टी कार्यालयले सर्कुलर जारी गरिसकेको जानकारी दिए।
महासचिव पोखरेलले ‘निर्वाचनमा हारको पीडा नभए माथि उठ्न सकिँदैन’ भन्दै हारलाई निराशामा बदल्न नदिन पार्टी कमिटी र जनसंगठनहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिए। ‘हरेकले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ,’ उनले भने।
पोखरेलले पछिल्लो निर्वाचन कुनै एक दलको मात्र हार नभई मूलधारका राजनीतिक शक्तिहरूका लागि चुनौती भएको टिप्पणी गरे। ‘यो नेपालका मूलधार दलहरूको पनि चुनौती हो,’ उनले भने।
पोखरेलले पार्टी जीवनमा विभिन्न तरंग र चिन्ता स्वाभाविक हुने उल्लेख गर्दै पार्टी कमिटी र जनसंगठनहरूलाई नियमित गतिविधिमा केन्द्रित हुन आग्रह गरे। उनले निराशालाई आशामा बदल्ने जिम्मेवारी संगठनको भएको स्पष्ट पारे।
पार्टीभित्रका विषय बाहिर छलफल गर्दा समाधानभन्दा बढी निराशा बढ्ने भन्दै उनले आवश्यक सुझावहरू पार्टी संरचनाभित्रै दिनुपर्नेमा जोड दिए। कार्यक्रममार्फत जाने सन्देश महत्वपूर्ण हुने भएकाले सबै तहका संगठनलाई रचनात्मक गतिविधिमा केन्द्रित हुन निर्देशनसमेत दिए।